कृष्ण अविरल /नेपाली साहित्यमा सबैभन्दा निरस विधा मानिन्छ निबन्ध । रस पसेका गिनेचुनेका बाहेक जो कोहीले पाठकले निवन्ध छिचोल्नै सक्तैनन् । छिचोल्नेहरुले पनि गहिराइ पत्ता लगाउने सामथ्र्य राख्दैनन् । गहिराइ पत्ता लगाउन त त्यसभित्र पसेर डुबुल्की मार्न सक्नु पर्छ । चेतनाको तेस्रो आँखा उघार्न सक्नु पर्छ । अनि विचारको बाँकटे हान्दै आफूलाई किनारामा उतार्न सक्नु पर्छ । अहिलेको व्यस्त समयमा त्यतिधेरै फुर्सद विरलैसँग हुन्छ । त्यही भएर होला निबन्ध लेख्नेहरु पनि असाध्यै कम छन् । अझ पाठकले रुचाएका निबन्धकार त औंलामा गन्न सकिने संख्यामा मात्र १।
वास्तवमा निबन्धका पाठक घटाउनमा हाम्रा केही निबन्धकारको दम्भले प्रमुख भूमिका खेलेको छ । आफूलाई अरुभन्दा अब्बल देखाउने मोहमा शब्द जन्जाल थोपरेर उनीहरु आफैँले अर्थ पहिल्याउन नसक्ने अमूर्त निबन्ध लेख्ने अनि ठूला भनिने पत्रपत्रिकाले तिनैलाई ँप्रकाण्ड विद्धान’ देख्ने प्रवृत्ति नै समस्याको जड हो । यसखाले प्रवृत्तिकै कारण आमपाठकहरु निवन्धबाट टाढिँदै आएका छन् । निवन्ध विधाको हुर्मत लिने काम भइरहेको छ ।
हालै सार्वजनिक रमण घिमिरेको 'अर्थात हामी’ शीर्षकको निवन्धसङ्ग्रह भने फरक विशिष्टता बोकेर आएको छ । दुई दशक बढीसमयदेखि पत्रकारिता र गीति लेखनमा सिद्धहस्त ठहरिँदै आएका घिमिरेले निबन्धलाई साँच्चै सरल र गीतिमय शैलीमा प्रस्तुत गरेका छन् । प्रत्येक वाक्य उत्तिकै सशक्त लाग्छन् । दैनिकीमा बारम्बार भोगिने र देखिने सामान्य विषयहरुलाई पनि टपक्क टिपेर बेजोड प्रस्तुति दिनसक्ने उनको शैली मौलिक छ । पढ्न सुरु गरेको पाठकलाई नसकिउन्जेलसम्म बाँधिरहन सक्नु अनि अनुच्छेदैपिच्छे घोत्लिन बाध्य पार्नु यो संङ्ग्रहको विशेषता हो । जस्तो : नेताको जातै ढाँट्ने हो । उनीहरु 'जनताद्वारा, जनताका लागि, जनतालाई’ ढाँटिरहेछन् । जनतालाई जति भ्रमित पार्न सक्छन् उनको राजनीतिक खेतीपाती त्यति मौलाउँछ । उनीहरुलाई 'सौ खुन’ माफ हुन्छ ।’
कुल १६ वटा निबन्ध समेटिएको यो सङ्ग्रहका प्रत्येक सिर्जना विचारमय छन् । 'शून्यदेखि अन्त्यसम्म’ मा उनले सौन्दर्य, यथार्थ र मान्छेको हेराइका बारेमा मन्थन गरेका छन् भने 'बिनाकारण’ शीर्षकमा आकाशसँग मान्छेको अस्तित्व र आकांक्षालाई तौलिएका छन् । एक ठाउँमा भन्छन्, 'आफ्नो स्वतन्त्र अस्तित्वमा कोही बाँच्न चाहँदैन । न राजनीतिमा, न धर्ममा । आफ्नो कुरा सिद्ध गर्न कोही माक्र्स, लेनिन र माओलाई अघि सार्छन् कोही गान्धी र बी.पी.लाई । कोही राम-कृष्णलाई देखाउँछन्, कोही मोहम्मद गुरुनानक, येसुलाई, कोही साईबाबालाई । राजनीति होस् या धर्म, कोहीसँग स्वत्व छैन । सबै अर्काको विचार, बोली र व्यवहारलाई सापटी लिएर आफूलाई त्यसको 'एजेन्ट’ सावित गरिरहेका छन् ।
कृति भित्रका अधिकांश निबन्ध कालजयी छन् । तात्कालीन महत्व बोकेका केही निबन्ध पनि परेका छन् । पुछारमा रचनाकाल समावेश गरिएको भए तात्कालीन विषय बोकेका निबन्धको पनि महत्व अर्कै हुने थियो । यसतर्फ भने निवन्धकार चुकेका छन् । 'या पाप मन पराएँ १’ लगायतका कतिपय निवन्ध कथाजस्ता लाग्छन् । 'सिकारीबाट विस्थापित सिंहहरु’ मा उनको आफ्नो गृहगाउँका सीमान्तकृत सतार-उराउँहरुको आवाज बोलिएको छ । 'निःसर्त सर्त’ मा दुनियाँमा सर्तरहित केही पनि हुँदैन भन्ने कुरालाई मिहीन पारामा केलाउँदै मृत्युलाई सर्तसँग सम्बन्धित भएको पुष्ट्याईँ गरेका छन् । 'बेलाबेला भूइँचालो आइरहनु पर्छ’ मा मान्छे भित्रको अतिमहत्वाकांक्षा र स्वार्थीपनको मर्मभेदी चित्रण छ । 'बुझिनसक्नु रहस्यको जीवन’ मा जीवनका रहस्यहरुलाई खोतलखातल पार्ने क्रमसँगै कवि ईश्वर बल्लभलाई नजिकैबाट चिनाइएको छ । यो निवन्ध पढेपछि दुर्वोध्य मानिने बल्लभका कविता बुझ्न कसैलाई कठिनाई पर्ने छैन ।
'कुरुप नगरकोट’ र '...अर्थात् हामी’ शीर्षकका निबन्धमा राजनीतिक विसंगतिको भण्डाफोर गर्दै नेताहरुको उछित्तो काढिएको छ । यसबाहेक पनि धेरै ठाउँमा रमणको राजनीतिक असन्तुष्टि विषय सान्दर्भिक रुपमा छताछुल्ल भएर पोखिएको छ । 'कंक्रिटको जंगलमा उभिएर’, 'घडीले समय चलाउँदैन’, 'नियतिबाट घाइते हामी’लगायतका निबन्धमा सहरिया विकृति र यान्त्रिक बन्दै गएको मान्छेको नियतिको चिरफार गरिएको छ । 'डेराको घमासान’ शीर्षकको निवन्ध रोचक भइकन पनि यसको उठान भने अन्य निवन्धको दाँजोमा स्तरीय लाग्दैन । निवन्धकार 'बौद्धिक डेरावाल’ पात्रको कुन्ठा चिछोल्न असफल भएका हुन् कि भन्ने महसुस हुन्छ ।
यस सङ्ग्रहको सबैभन्दा उत्कृष्ट निवन्धचाहिँ 'प्रशंसा सर्वत्र पूज्यते’ हो । यसमा मन्दविष रुपि प्रशंसा पिएर कहिल्यै नअघाउने बानी परेको आजको मान्छेको मनोदशा केलाइएको छ । यसले पाठकको सोचाइमा आँधी तुफान ल्याउने पक्का छ । उनी भन्छन्, 'यो यस्तो किसिमको रोग हो, जहाँ प्रशंसारुपी मन्दविषको प्रयोग हुन्छ र प्रशंसाको घुट्को पिएर क्षणक्षण मरिरहेको हुन्छ । आत्महत्यालाई जातिसुकै काँतर भनिए पनि मान्छे एकपल्ट मात्रै मर्छ बस् १ तर प्रशंसाको मन्दविष पिउने अम्मली भने दिनदिनै मरिरहेको हुन्छ, जानीजानी । तर पनि पिउन छाड्दैन ।’
मिहीन पाराले वाक्य-वाक्य केलाइएको भए पनि निवन्धमा अशुद्धि बाहेकका भाषिक कमजोरी पनि प्रशस्तै छन् । राजनीति गर्नेहरु सबै राजनीतिज्ञ हुँदैनन् तर पेज ६४ मा राजनीतिकर्मी भन्दा हुने ठाउँमा ँराजनीतिज्ञ’ भनिएको छ । एउटै शब्द फरकफरक टाउँमा फरकफरक रुपले प्रयोग गरिएको छ जस्तोस् हिरोहोण्डा- हिरो होण्डा, मन्दविष- मन्द विष आदि । पूर्णविराम आवश्यक नभएको ठाउँमा पूर्णविराम राखिएका, 'हरु’ नचाहिने बहुबचनका शब्दमा 'हरु’ झुन्ड्याएका, सर्वनामको 'ऊ’ लाई 'उ’ लेखिएका उदाहरण अनेक छन् ।
कतिपय ठाउँमा भाषिक संरचनागत त्रुटी पनि भेटिन्छ । जस्तो पेज ९३ मा उनले 'जतिखेर परिस्थिति उत्ताउलो भएको थियो र मेरोवरिपरि भौंतारिएको थियो ।’ लेखेका छन् । तर उत्ताउलो भएको परिस्थिति भौंतारिँदैन । तड्पिएको, छट्पटिएको वा पीडामा परेको आदि अवस्थामा मात्रै भौंतारिन्छ । यसमा उनले 'भौंतारिएको’ शब्दको सट्टा 'घुमिरहेको’ वा अन्य कुनै वाक्य प्रयोग गरेको भए अझ सान्दर्भिक हुन सक्थ्यो । त्यस्तै पेज ९९ मा 'अक्करे भीरबाट पातालमा भसाइदियो’ नभनेर 'अक्करे भीरबाट फेदीतिर गुल्ट्याइदियो’ भए अर्थ अझ खुल्न सक्थ्यो । यस्ता त्रुटी थुप्रै छन् ।
पछिल्लो पुस्ताका केही स्रष्टाको नाम निबन्धमा जवर्जस्त घुसाएर उनीहरुको मात्रै 'प्यारो’ हुनेलगायतका निवन्धकार आफैँले रोजेका कतिपय कमजोरीलाई बिर्सिने हो भने 'अर्थात् हामी’ कालजयी कृति हो । पूर्वीय दर्शन, संस्कृतका सूक्ति तथा अग्रज स्रष्टाहरुका अनेक उदाहरण समेट्दै लेखिएका निबन्धहरुको यो सङ्ग्रहमार्फत् रमणले नेपाली निबन्ध फाँटमा मौलिक र पृथक पहिचानको किलो गाडेका छन् । समीक्षक तथा स्रष्टा स्रष्टा विधान आचार्यकै शब्द सापटी लिएर भन्ने हो भने 'सामाजिक विसङ्गतिलाई थाहै नपाईकन हिमालझैँ उचालेर त्यसमाथि आफ्ना विवेचनाका पाइला हाल्ने एक सफल कलम आरोही रमणले यी रचनामार्फत् नेपाली साहित्यलाई फरक आयाम प्रदान गरेका छन् । नेपाली निबन्धले रमणसित र रमणले नेपाली निबन्धसित छुट्टै परिचय प्राप्त गरेका छन् ।’
ठोकुवासँग भन्न सकिन्छ, रमणको यो कृतिले आम पाठकमा रहेको निवन्ध विधाप्रतिको नैराश्य र उपेक्षालाई तोड्ने छ । उनीहरु र निबन्धबीच पुल बनेर नयाँ नाता जोड्ने छ । अनि निबन्ध यति बान्की मिलेका, सरल, मीठा, विचारमय र बोधगम्य पनि हुँदोरहेछ भन्ने कालजयी स्मरण पनि छोड्ने छ ।
कृति :'अर्थात् हामी
प्रकाशक : साङ्ग्रिला बुक्स
पेज :१०९ र १०
मूल्य :१५०।-