कैलाली, ११ जेठ । कैलालीको धनगढी नगरपालिका–३, मिलनचोक घर भएकी एक महिलाले नाबालक दुई छोराछोरी विष सेवन गराई आफूले पनि विष सेवन गरेकी छन् । विष सेवनबाट दुई छोराछोरीको ज्यान गएको छ भने आमा भने बाँच्न सफल भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
सशस्त्र प्रहरी बल सुदूरपश्चिम बाहिनी बैद्यनाथ गण अत्तरियामा कार्यरत सई टेकराज न्यौपानेकी २४ वर्षीया पत्नी राधिकाले हिजो साँझ एक वर्षीय छोरा अभिनय र आठ वर्षीया छोरी सरिता तथा आफूले चाउचाउमा सल्फास नामक विष राखेर खाएकी हुन् ।
विष खाई बेहोस् भएका तीनै जनालाई उपचारका लागि आफन्तहरुले सेती अञ्चल अस्पताल धनगढीमा लगेका थिए । उनीहरु थप उपचारका लागि कोहलपुर मेडिकल कलेजमा लैजाने क्रममा बीच बाटोमै नाबालक दुई अभिनय र सरिताको मृत्यु भएको कैलाली प्रहरी प्रमुख एसपी घनश्याम अर्यालले बताए । बेहोस अवस्थामा रहेकी राधिकाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।
राधिकाका पति गणबाट घर बिदामा बसेको तर घरमा पनि नआएर अन्य महिलासँग रहेको थाहा पाएर उनले दुई छोराछोरी सहित आत्महत्या गर्न खोजेको प्रहरीको प्रारम्भीक अनुमान छ । पतिका कारण राधिका मानसिक तनाबमा रहेको आफन्तले जनाएका छन् । बिदामा रहेका टेकराजको खोजबिन भइरहेको सशस्त्र प्रहरी गण अत्तरियाले जनाएको छ । - सौर्य दैनिक

















