काठमाण्डौं, १४ जेठ । संविधानसभाको कार्यकाल सकिएपछिको सम्भावित खतरालाई मध्यनजर गरी नेपाली सेना तयारी अवस्थामा बसेको छ । सैनिक मुख्यालयको निर्देशनमा मुलुकभरका सैन्य निकाय तैनाथ भएका हुन् ।
सैनिक मुख्यालयले केहीदिन अघि मात्र सम्भावित खतराको मध्य नजर गर्दै खतराको संकेत सहित पत्राचार गरी मातहतका निकायलाई तयारी रहन निर्देशन दिएको थियो ।
सैनिक मुख्यालयका एक बरिष्ठ अधिकारीका अनुसार ‘सुरक्षा स्थिति निकै कमजोर भयो र दुवै प्रहरी ( नेपाल प्रहरी र सशस्त्र प्रहरी ) को नियन्त्रण भन्दा बाहिर गएको अवस्थाको स्थिति सेनाले समाल्नुपर्छ भनेर तयारी अवस्थामा बसेको बताएका छन् ।
सोही कारण सहितको पत्र सम्पूर्ण सैन्य इलाकामा पठाई सकेको उपत्यका बाहिरका एक पृतनापतिले बताएका छन ।
पछिल्लो समयमा विभिन्न जातीय संगठनहरुले आफनो माग राखेर बन्द हड्ताल गर्नुका साथै आफुखसी प्रदेश घोषणा गर्ने होडलाई सेनाले गम्भिर रुपमा लिएको स्रोतको भनाई छ । सोही आधारलाई विश्लेषण गरी सम्भावित दुर्घटना रोक्न सेना तयारी अवस्थामा बसेको सैनिक अधिकारीहरुले बताएका छन् । - राजधानी दैनिक

















