प्रहरी-प्रदर्शनकारीबीच झडप, १५ राउण्ड फायर, ६ प्रहरीसहित ५० घाइते


सिरहा, १७ जेठ ।  पक्राउ परेका ८ जनालाई छुटाउन सडक बन्द गरी प्रदर्शन गर्ने र प्रहरीबीच सिरहाको बस्तीपुरमा झडप हुँदा प्रहरीसहित ५० जना घाइते भएका छन् । झडपमा घाइते हुनेमा कर्जन्हा ४ का सुभष महतो र ३ नम्वर वडाका सुदिप पासवान सहितका छन् ।  

घाइतेहरुको कर्जन्हास्थित फुलकुमारी मेमोरियल अस्पतालमा उपचार भैरहेको स्थानीय इन्द्रेश राउतले बताए । झडपपछि बस्तीपुरमा तनाव छ भने प्रदर्शनकारी प्रहरीबीच दोहोरो झडप रोकिएको छैन । अवस्था नियन्त्रणमा लिन सिरहा, बन्दीपुर मिर्चैया गोलबजारबाट थप प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

सिरहाको कर्जन्हास्थित जनसेवा उच्च माविलाई दान दिएको जग्गाको लालपुर्जा सम्वन्धी मुद्दाको वयानमा गएका साक्षी अपहरण गरेको उजुरीका आधारमा प्रहरीले विद्यालयका प्राचार्य सहित आठ जनालाई अदालत परिसरबाटै मंगलबार राति गिरफतार गरेका थिए । पक्राउ पर्नेमा प्राचार्य लक्ष्मी हाई सहित ८ जना छन् ।

साक्षी बयानका लागि जग्गा दाता रामवावु महतो पक्षबाट वयानका लागि बोलाइएका रामभरोश शार्मा ठाकुर र दिपक धमलालाई विपक्षी विद्यालय पक्षधरले अपहरण गरेको उजुरीका आधारमा आठ जनालाई पक्राउ गरिएको सिरहा प्रहरी प्रमुख राजेश लाल कर्णले बताए । 

अपहरण गरिएको भनिएका दुबैले मंगलबार राति इलाका प्रहरी कार्यालय गोलबजार पुगेर आफुहरुलाई पञ्चायतीमा आउन भनेको तर, सिरहा पुग्दा स्कुललाई दान दिएको जग्गाको लालपुर्जा सम्वन्धी मुद्दामा साक्षी बयान दिनुपर्ने भनेपछि आफै फर्केको बयान दिएको गोलबजार प्रहरी कार्यालयका सई शैलेन्द्र कुमार गच्छेदारले बताए। - नागरिक