संरचनात्मक सुगठन गजलको महत्वपूर्ण पक्ष हो । वर्तमान समयमा यसलाई त्यति ख्याल गरिएको भेटिदैन । गजल दुई हरफहरु मिलाउँदैमा बन्न सक्दैन । यस्तो किसिमको लेखनले गजलको बदनाम हुन सक्छ ।
गजल एउटा यौगिक रचना हो, जुन विभिन्न संरचक घटकहरुको सन्तुलित तथा नियमित नियमबाट निर्माण हुन्छ । त्यसको वास्तविक चिनारी नै शास्त्रीय आधार हो ।
गजलको संरचना बुझ्नको लागि केही संरचक पक्षहरुको जानकारी लिन आवश्यक हुन्छ ।
१) काफियाः- काफियाको अर्थ अन्त्यनुप्रास वा तुक हो । खासगरी प्रत्येक शेरको अन्त्यमा रदीफ पूर्व आउने तुकबन्दीपूर्ण शब्द नै काफिया हो । गजलको प्रत्येक शेरको दोस्रो पङ्तिमा मतलाको दुबै पङ्तिमा काफियाको प्रयोग अनिवार्य मानिन्छ । यसले गजलमा लयात्मकताको सिर्जना गर्नुका साथै गजललाई विशिष्ट संरचना तत्व प्रदान गर्दछ । जस्तैः-
विश्वासको घात नगर ममाथि
विषको यो प्याला नभर ममाथि
- रमा शर्मा
२) रदीफः- रदीफ अरवी भाषाको शब्द हो । रदीफ गजलको अनिवार्य तत्व चाहिं होइन । काफियाको पछाडि बारम्बार दोहोरिएर आउने शब्द वा शब्दसमूहलाई रदीफ भनिन्छ । यसरी रदीफबाहेक गजल आयोजना गरिएमा उर्दुमा 'गैर मुरद्वफ' गजल भनिन्छ । यो लगातार दोहोरिएमा गजल लयात्मक, गेयात्मक तथा दीर्घ प्रभावकारी बन्दछ । जस्तैः-
इ सानै उमेर्देखि मन हर्न लागे
यिनै सुन्दरीले जुलुम् गर्न लागे ।
कहाँ सम्म आँट लौ हेर तिन्को
रिसाएर आँखा पनि तर्न लागे ।
- मोतिराम भट्ट
३) मतलाः- गजलको पहिलो दुर्इ हरफलाई मतला भनिन्छ । मतलाका दुबै हरफमा काफियाको प्रयोग अनिवार्य हुन्छ । यो भाग गजलको मुख्य भाग हो । यसमा गजलभरिको केन्द्रिय भाव समेटिएको हुन्छ । जस्तैः-
यही हो कुरा त्यो बुझाउन गाह्रो
मलाई छ प्यारो उनकै तगारो
४) मकताः- गजलको अन्तिम दुर्इ हरफहरुमध्ये कुनै एकमा तखल्लुसको प्रयोग गरिएको छ भने ती दुर्इ हरफलाई मकता भनिन्छ । जस्तैः-
अघि पर्न सक्दिन मैले हरिका
नजर्देखि मोती पनि झर्न लागे ।
- मोतिराम भट्ट
५) तखल्लुसः- गजलका अन्तिमका दुर्इ हरफहरु मध्ये कुनै एकमा प्रयोग गरिने लेखकको नाम वा उपनाम नै तखल्लुस हो । माथि (४) मा दिइएको उदाहरणमा 'मोती' शब्द नै तखल्लुस हो । तखल्लुस गजलमा दुर्इवटा अर्थ दिने खालको भएर प्रस्तुत हुनुपर्दछ । यदि जवर्जस्ती नाम राख्नकालागि मात्र यसको प्रयोग गरिन्छ भने त्यसलाई तखल्लुस नै भनिदैन । त्यस्तो अवस्थामा तखल्लुसको प्रयोग गर्दा भन्दा नगर्दा नै राम्रो ठानिन्छ ।
६) मिसराः- मतला र मकता बीचका प्रत्येक दुर्इ हरफलाई मिसरा भनिन्छ । मिसराको दोस्रो हरफमा काफियाको अनिवार्य उपस्थिति रहन्छ । मिसराको पहिलो हरफलाई मिसरा ए उला भनिन्छ भने दोस्रो हरफलाई मिसरा ए सानी भनिन्छ । मिसराहरु अलग अलग भावका भए पनि फरक पर्दैन भनिए पनि आज आएर भावको नियमितता हुनुपर्ने मान्यता आइसकेको छ । मिसराको पहिलो हरफले भावको उठान र दोस्रो हरफले त्यसको समाधान गर्ने शैली गजलमा हुनुपर्दछ ।
७) शेरः- गजलका प्रत्येक दुर्इ हरफलाई शेर भनिन्छ ।
८) बहरः- गजलको छन्द वा लयलाई बहर भनिन्छ ।
यसरी माथि उल्लिखित गजलका केही पक्षकाबारेमा संक्षिप्त चर्चा गरिए पनि उत्कृष्ट गजल नियोजनका लागि यति नै तत्वहरु पर्याप्त चाहिं छैनन् । यसमा मुख्यतः भाषाशैली, लयविधान, भावगत तीब्रता आदि आफ्नै ठाउँमा महत्वपूर्ण छन् । गजल एक छन्द विशेषमा रचना गरिने शास्त्रीय मान्यता भएकाले यसमा छन्द वा बहर पनि महत्वपूर्ण मानिन्छ ।
गजलका शास्त्रिय छन्द फारसी तथा उर्दुमा ५० वटा मानिए पनि १९ वटा मात्र प्रयोगमा आएको (परिश्रमी, २०५१:२७) भनिए पनि खास गरी उर्दु गजलमा ३७ वटा बहर हुने तर १२ वटा मात्रै प्रयोगमा आएको दावी गजलकारहरुको छ । यस्तै उर्दु र फारसीमा गजल संग्रहलाई 'दीवान' र बहरबद्ध गजल संग्रहलाई 'बयाज' भनिन्छ ।
उर्दु पिङ्गलशास्त्र अनुसार गणलाई 'रुकुन' भन्ने गरिएको पाइन्छ तथा बहरहरु 'अरकान' बाट बन्दछन् (परिश्रमी, २०५०:८७) । अरकान भनेको गण व्यवस्था हो । तथापि कतैकतै एउटा गणलाई 'रुकुन' र अक्षरको मात्रालाई वजन' भन्ने गरेको पनि पाइन्छ । आजका आधुनिक नेपाली गजलमा शेर सङ्ख्या विजोड भएको राम्रो हुने मान्यता पाइन्छ ।