तिम्रो साथ पाएँ भने (कविता)


- अधिवक्ता जगतप्रसाद आचार्य, हाल दुबई, युएई  
खोक्रो आत्मा भए पनि तिम्रो सामु  हाँस्न सक्छु
भोको पेट भए पनि दुइ चार दिन बाँच्न सक्छु ।

तिम्री लागि मेरो जीवन गलत नै भए पनि
सच्याउँनेछु म त्यस्ता गल्तीहरुलाई पनि ।

जीवनमा अघि बढ्दा खुट्टा तान्ने मात्रै पाउँछु
जति खुट्टा ताने पनि अघि बढ्ने कोसिस गर्छु ।



मायालुको माया पाए मुटु भित्र राख्ने थिएँ
मायालुले धोका दिए एक्लै भएनि बाँच्ने थिएँ ।



स़ाउनमा खोला तर्दा  भेल आई बग्न सक्छु
मायालुले साथ दिए त्यो भेलमा तर्न सक्छु ।

तिमीलाई मैले गर्दा जति दुख भए पनि
आत्मादेखि चाहेको छु म मरेर गए पनि ।

तिम्रो साथ पाएदेखि अरु धेरै बाँच्ने थिएँ
तिम्रो मुटुमा डेरा पाए त्यही बसी हाँस्ने थिएँ ।