चेक रिपब्लिकले पनि आप्रवासीलाई वैधानिकता दिने


योगेन्द्रमिलन छन्त्याल, लिस्बोन, २६ कार्तिक । विगत दुई दशकदेखि एशिया र अफ्रिकाका विकाशोन्मुख मुलुकहरुबाट युरोप, अमेरिका र अष्ट्रेलियामा प्रवेश गर्न चाहनेहरुको संख्या बढ्दो छ । प्रवेशाज्ञा पाउन अप्ठेरो हुनाले सीमित युवाहरुले मात्र आफ्नो चाहना अनुसार यी महादेशहरुमा प्रवेश गर्न सकेका हुन्छन् ।



नेपालबाट पनि लाखौको संख्यामा पढेलेखेका, क्षमतावान, रकमको जोहो गर्न सक्ने र ठूलाबडासंग पहुँच हुनेहरु जीवनलाई तुलनात्मक रुपमा सम्पन्न बनाउने सपना साँचेर क्यानाडा, अमेरिका, अष्ट्रेलिया र युरोपका देशहरुमा प्रवेश गरेको पाइन्छ । यी विकसित मुलुकहरुको प्रतिव्यक्ति आय बढी हुने गर्दछन् । अझ अर्को आकर्षण यी देशहरुको कागज बनाउन सक्यो भने सपरिवार त्यतैतिर बसाईं सर्ने सोच बनाएका हुन्छन् नेपालीहरु । यी देशहरुमा गैह्र कानुनी तवरले पनि हजारौ नेपालीहरु रहने गर्दछन् । यी देशहरुमा आ-आफ्नै किसिमका आप्रवासीसम्बन्धि नियमहरु हुन्छन् ।

आफ्नो देश छोडेर अर्काको गुलामी गर्नु सजिलो कुरा होइन । विदेशीहरु आफ्नो राष्ट्रलाई फाइदा हुने किसिमले मात्र नीति नियम बनाउँदछन् । त्यसैले जटिल आप्रवासी प्रक्रियाको अनुशरण गर्दै बस्ने र काम गर्ने अनुमतिका लागि पनि अत्यन्तै मिहेनेत गर्नुपर्छ । यसका लागि समय, पैसा, श्रम र धैर्यताको लगानी त गर्नै पर्छ । लामो समयसम्म देशका लागि योगदान दियो वा नियमानुसार न्युनतम शर्त पूरा गर्‍यो भने बल्ल चरण चरणमा बस्न र काम गर्नलाई अनुमति दिइन्छ ।

सेन्जेन देशहरुमध्ये अस्ट्रिया, बेल्जियम, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, जर्मनी, आइसल्याण्ड, इटाली, ग्रीस, लक्जम्बर्ग, नेदरल्याण्ड, नर्वे, पोर्तुगल, स्पेन र स्वीडेन गरी १५ देशहरुमा आप्रवासीहरुका लागि केही साझा र केही राष्ट्रिय नियमहरु रहेका छन् । बेलाबखत नीति नियमहरुमा फेरबदल पनि हुने गर्दछन् ।

कागज बनाउनलाई मुख्यत ३ वटा उपायहरु अपनाएको पाइन्छ । ती हुन् : १) शरणार्थी (Asylum) प्रक्रिया २) आप्रवासी प्रक्रिया र ३) विवाह । पहिलो प्रक्रियाबाट युरोपमा कागज बनाउनेहरु धेरै छन् । तर युरोपमा कागज नबनेका युवाहरु पछिल्लो समयमा यो प्रक्रिया अनुसार कागज बनाउने सपना देख्न मुश्किल हुने गरेको बताउँने गर्दछन् । किनकि हाम्रो देशमा बस्नका लागि कुनै हालतमा वातावरण छैन भन्ने पर्याप्त कारण देखाउन नसकेमा जुनसुकै बेला सम्बन्धित देशले देशनिकाला (Deport) गरि दिन सक्छ । अझ वास्तविक नाम ठेगाना उल्लेख गरी शरणार्थी बनेका युवाहरुको नेपालको ठेगानासम्म अनुसन्धान हुने गरेको पाइएको छ ।

दोश्रो प्रक्रिया अनुसार युरोपमा बितेका वर्षहरुमा इटाली, स्पेन र पोर्तुगलमा विदेशीहरुले कागज बनाएका छन् । स्पेन र पोर्तुगलमा आप्रवासी प्रक्रियाका लागि आवेदन खुल्ला छ भने इटालीमा थोरै समय आव्हान गरेर आवेदन रोकिएको बताइन्छ । प्रक्रियाका मापदण्डहरु भने फरक रहेका छन् ।

तेश्रो प्रक्रिया अनुसार नेपालीहरु आफू रहन चाहने मुलुकका नागरिकसंग विवाह गरेमा विवाहको आधारमा सम्बन्धित देशमा रहन पाउने अधिकार प्राप्त हुन्छ । यसपछि निश्चित समय बसोवास गरि न्युनतम मापदण्ड पूरा गरेमा सम्बन्धित देशको नागरिक बन्न पनि पाइन्छ । केही समय पहिलेसम्म सहज रहे पनि अचेल यो प्रक्रियामा पनि निकै कडाइ हुँदै गएको छ । विवाहित जोडीले वास्तविक विहे गरेका हुन् कि होइनन् भनेर कडा निगरानी राख्ने गरिन्छ । विवाह गर्ने महिला वा पुरुषको जन्मभूमिको पारिवारीक अवस्थाबारे पनि गहन अनुसन्धान हुने गर्दछ ।

यसैबीच एक वेभसाइटका अनुसार चेक रिपब्लिकले २२ अगष्ट २०१० का दिन विदेशीलाई चेकमा रहन अनुमति दिने कानुन पारित गरेको छ । ३१ डिसेम्बर २००७ देखि सेन्जेनमा आवद्ध चेकमा नगन्य मात्रामा नेपालीहरु रहेका छन् । त्यहाँ नेपालीहरुको संस्था पनि रहेको पाइएको छ । वेभसाइटमा उल्लेख भएको कानुन लागू भए नभएकोबारे बुझ्न स्थानीय नेपालीहरुसंग सम्पर्कको प्रयास भने सफल हुन सकेन ।