पोर्तुगलमा नेपालीहरु

योगेन्द्रमिलन छन्त्याल, लिस्बोन, पोर्तुगल । झण्डै नेपालसंग मिल्छ पोर्तुगलको हावापानी । सात क्षेत्र र १८ जिल्लाहरुमा विभाजित पोर्तुगलको क्षेत्रफल ९२,३९२ वर्ग किलोमिटर रहेको छ । युरोपको पश्चिम दक्षिणमा रहेको पोर्तुगलको उत्तर र पूर्वमा स्पेन रहेको छ भने दक्षिण र पश्चिममा एट्लाण्टिक महासागर रहेको छ ।  पोर्तुगल ५ अक्टोबर १९१० मा गणतन्त्र घोषणा भएको मुलुक हो ।

यहाँको सरकारको कार्यकारी प्रमुख प्रधानमन्त्री र राष्ट्र प्रमुख राष्ट्रपति हुन्छन । यहाँको राष्ट्रभाषा पोर्तुगीस हो । पोर्तुगलको प्रमुख आयश्रोत पर्यटन, वाइन उत्पादन, व्यापार र कृषि उत्पादन रहेका छन् ।

करिब ३,५०० नेपालीहरु रहेको अनुमान गरिन्छ पोर्तुगलमा । आधिकारिक तथ्यांक भने छैनन् । आप्रवास (Immigration) प्रक्रिया सजिलो भएको कारण पछिल्लो समयमा पोर्तुगल हजारौ नेपालीहरुको गन्तव्य बनिरहेको छ । यहाँ ५५ भन्दा बढी नेपाली व्यापार व्यवसायीहरु रहेका छन् भने २१ वटा संस्थाहरु रहेका छन् । संस्थामा गैह्र आवासीय नेपाली संघ (एनआरएन), पोर्तुगल नेपाल मैत्री संघ, नेपाल पोर्तुगल कला, संस्कृति तथा साहित्य सञ्चार परिषद, नेपाली जनसम्पर्क समिति (कांग्रेसनिकट), नेपाली जनप्रगतिशील मन्च (माओवादीनिकट), नेपाल लोकतान्त्रिक मन्च (एमालेनिकट), पोर्तुगल आदिवासी जनजाति महासंघ, पोर्तुगल मगर संघ, म्याग्देली प्रवासी नेपाली संघ (मोना), युरोप शेर्पा किदुग र तमु समाज क्रियाशील रुपमा लागिपरेका पाइन्छन् ।

पोर्तुगलमा रहेका अन्य संस्थाहरुमा बागलुङ सहायता कोष, क्षेत्री समाज, मानव अधिकार तथा शान्ति समाज, किराँत समाज, जातीय उत्पीडित समाज, तामांग समाज, नेप्च्युन क्लब, पोर्तुगल छन्त्याल संघ, नेवा पु:च र नेपाली समाज रहेका छन् । पोर्तुगलबाट नेपालपोर्तुगल डट कम, सहयात्रा डट कम, पिटीनेपाल डट कम र पोर्तोनेपाल डट कम गरी ४ वटा वेब पोर्टलहरु संचालनमा रहेका छन् । सबैको चासो र चाहना अलिक उच्चस्तरको जीवनयापन, त्यसको एउटा बाटोस्वरूप पोर्तुगलको कागज बनाउने सपना बोकेर हजारौ नेपालीहरु पोर्तुगलमा संघर्ष गरिरहेका छन् ।

हालसम्म करिब १२० जना नेपालीहरुले पोर्तुगलको नागरिकता लिइसकेको बताइन्छ । २००० भन्दा बढीले यहाँ बस्नका लागि अनुमति (रेजिडेन्स) कार्ड पाएका छन् । १४०० हाराहारीको संख्या प्रक्रियामा रहेका छन् । दिनानुदिन पोर्तुगल भित्रिने नेपालीको संख्या रोकिएको छैन । के कस्तो छ त पोर्तुगलको  वातावरण ? कैयन वर्षदेखि यहाँ रहँदै आउनुभएका अनुभवी एवं जानकार महानुभावहरुसंग हामीले छलफल चलाएका छौ । उहांहरुसंग गरिएका छलफलका अंशहरु :


जातीय संस्थाहरु किन ?
 - रामप्रसाद पून, अध्यक्ष, पोर्तुगल मगर समाज

हामीलाई २००१ देखि नै समाजको आवश्यकता महशुश गरेका थियौ । १० वर्षपछि मात्र यसले मूर्त रुप लियो । जातीय भाषा, संस्कृति, भेषभूषा, चाडपर्व र पहिचानलाई निरन्तरता दिन वा जीवन्त राख्न यस्ता जातीय संस्थाहरुको आवश्यकता छन् ।

हाम्रो समाजले मनोरन्जन, खेलकूद, आपतकालीन समस्याहरुमा राहत र जनजाति हक हित तथा पहिचानका लागि कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

राजनीतिक दलनिकट संगठनहरु हुनै पर्ने हो विदेशमा पनि ?
 - राममणी रिजाल, उपाध्यक्ष, नेपाली जनप्रगतिशील मन्च (माओवादीनिकट)

नेपालमा रहेका राजनीतिक दलहरुले संगठन विस्तारको क्रममा प्रवासमा पनि भात्री संगठनहरु गठन गर्ने गर्दै आइरहेका छन् । प्रवासका राजनीतिक मुद्धा उठान गर्न पनि नेपालीहरुबाट राजनीतिक संगठनहरुको जरुरत ठानिन्छ ।

पोर्तुगलमा चाही दलनिकट संगठनहरु पूरै राजनीतिक संगठनभन्दा पनि सामाजिक संगठनका रुपमा विकास भएका छन् ।

मानवीय विचारको कुरो हो, नेपालबाट विदेशिनुभन्दा पहिल्यै हामीहरुले राजनीतिक विचार बोकेका हुन्छौ । आफ्नो सिद्धान्त आफ्नो ठाउंमा छन् तर पोर्तुगलमा आपतविपत, चाडपर्व र सामाजिक कार्यहरुमा तपाई यो पार्टीको म यो पार्टीको भन्ने कुनै भेदभाव हुँदैन ।

प्रगतिशील मंचले राजनीतिक प्रशिक्षणका अलावा नेपालीहरुलाई हरेक किसिमका सामाजिक कार्यहरुमा संलग्न भइ सहयोग गर्ने गरेको छ । हाम्रा समर्थक शुभचिन्तकहरु नेपालीका समस्याहरुमा व्यक्तिगत र संगठनात्मक सहयोगमा कहिल्यै चुकेका छैनन् ।

के गरिन्छ पोर्तुगलवासीका लागि ?
- पूर्ण हमाल, सदस्य, गैह्र आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद

मैले पुराना  कामहरु पूरा गर्न पहल गर्नेछु । दिल्ली दुतावासमा नेपालीहरुलाई भिसा प्रक्रियामा साह्रै ढिलासुस्ती गर्ने गरेका गुनासाहरु सुनिने गरेका छन् । यो समस्या समाधानका लागि छिट्टै दिल्ली दुतावासमा डेलिकेशन गएर वातावरणलाई सहज बनाउने पहल गरिने छ ।

पोर्तुगलमा कुटनीतिक नियोगको स्थापना नभएकोमा हजारौ नेपालीहरुले समस्या भोग्नु परेको छ । मेरो दुई वर्षको कार्यकालमा कुटनीतिक नियोग स्थापनाका लागि सम्बन्धित सबै निकायहरुमा घच्घच्याउने काम हुनेछ ।

पछिल्लो समयमा पोर्तुगलमा नेपालीहरुको ओइरो लागेको छ । धेरै बेरोजगार रहेका छन् । यहाँ नेपालीलाई पर्ने समस्या समाधानका लागि सबैसंग समन्वय र सहकार्य गरी कार्यक्रमहरु अगाडि बढाइने छ ।

मैत्री संघले के के गर्छ ?
- मकर हमाल, अध्यक्ष, पोर्तुगल - नेपाल मैत्री संघ

आप्रवास (immigration) प्रक्रिया सजिलो भएका कारण हजारौ नेपालीहरु पोर्तुगल भित्रिएका छन् र आउने क्रम जारी छ । कागज बनाउने, परिवार लिन पाउने आदि सम्भावनाहरु छँदाछंदै चुनौतिहरु र समस्याहरु पनि बढ्दै गइरहेका छन् । बेरोजगारीको समस्या बिकराल बन्दै गइरहेको छ । यसको समाधानका लागि सबैले योजनाबद्ध ढंगले चिन्तन गर्न र पहल गर्न जरुरी छ ।

मैत्री संघले रोजगारीको प्रवर्द्धन गर्न कृषि परियोजना शुरु गरेको छ । तीन चार महिनाको छोटो समयमा राम्रो तरकारी उत्पादन भइसकेको छ । निकट भविष्यमा गाईपालन, कुखुरापालन, हाँसपालन, बंगुरपालन, बाख्रापालन गर्ने योजना रहेका छन् । यी योजनाहरुमा नेपालीहरुलाई रोजगारी दिइएको छ र दिइनेछ ।

पोर्तुगीसहरु नेपाललाई संसारकै सबैभन्दा अग्लो टाकुरा सगरमाथाको देश, वीर गोर्खालीहरुको देश र गौतम वुद्धको देश भनेर चिन्ने गर्दछन । मैत्री संघमा थुप्रै पोर्तुगीसहरुले सहायोग गर्ने गरेका छन् र नेपालप्रति सकारात्मक रहेका छन् । उनीहरुले स्वयंसेवीरुपमा पोर्तुगीस भाषा पढाउने लगायतका सहयोग गर्दै आइरहेका छन् । मैत्री संघले नेपालमा पोर्तुगीसहरुको लगानी भित्र्याउने, पर्यटकको संख्या बढाउने तथा सहयोगदाताहरु बढाउन पहल पनि गरिरहेको छ ।

नेपाली संस्कृतिको प्रवर्द्धनका लागि साँस्कृतिक कार्यक्रम र महोत्सवहरुको आयोजना पनि गरिएको छ ।  नेपालमा उत्पादित सामाग्रीहरुको पोर्तुगलको बजारमा बिक्री वितरणको प्रयासहरु भइरहेका छन् । हामी सबै नेपाली हौ भन्ने भावना राखेर अगाडि बढ्यौ भने नेपाली समुदायका लागि प्रशस्तै सहयोग र राहत दिन सकिन्छ ।

राजनीतिले नेपालीहरुबीच फाटो ल्याउँछ कि ?
- उमेश चौलागाई, महासचिव, नेपाली लोकतान्त्रिक मञ्च (एमालेनिकट)

राजनीतिक विचार र आस्था भएका साथीहरु संगठित हौ र आस्था, विचार र भावनालाई एक ठाउंमा समेटौ भन्ने उद्देश्यले संगठन बनाउन जरुरत छ भन्ने हामीलाई लाग्छ । साझा सवालहरुमा भने यहाँ सबै नेपालीहरु एकजुट हुने गरेका छौ । संगठनभित्रका साथीहरुको समस्यामा बढी नजिक हुने भएकोले समस्याहरुको पहिचान गर्दै सहयोग आदानप्रदान गर्ने गरेका छौ ।

स्वभाविक रुपमा आर्थिक र सांगठनिक दृष्टिकोणले प्रवासमा संगठनहरु खोलिएका हुन । राजनीतिक मुद्धाहरुमा यस्ता संगठनहरुले नीति निर्माण तहसम्म सल्लाह्सुझाव र दवाव दिन सक्छन । मञ्चले इमिग्रेशन प्रक्रियासम्बन्धि कानूनहरुको सम्बन्धमा जानकारी दिने, दिल्लीमा भिसा प्रक्रियामा हुने ढिलासुस्तीमा सुधार गर्न पोर्तुगलको सदनमा ज्ञापनपत्र बुझाउने जस्ता कार्यक्रमहरु गर्दै आएको छ ।

किन जिल्लाको पनि संस्था ?
 - कुबिर मल्ल, अध्यक्ष, बागलुङ सहायता कोष

आफू जन्मेको गाउँ ठाउंमा केही गरौ भन्ने भावनाले सहायता कोषको स्थापना गरिएको हो । पोर्तुगलमा रहेका सबै नेपालीहरुको समस्या समाधान गर्न अग्रणी भूमिका खेल्ने हाम्रो योजना रहेको छ ।

जिल्ला सदरमुकाममा सृजनशील वा रचनात्मक काम प्याकेजमा लैजाने सोच पनि बनाएका छौ । जति सफलताहरु हात पर्दै जान्छ, कोषले थप कार्यक्रमहरु बढाउदै लैजाने छ ।

व्यापारी बढ्दा सबै नेपालीलाई केही फाइदा हुन्छन् ?
- भरतकुमार श्रेष्ठ, व्यापारी

पोर्तुगलमा ५५ भन्दा बढी नेपाली व्यापार व्यवसायीहरु रहेका छन् । कम्युनिकेशन, खुद्रा पसल, मिनी मार्केट, कोल्ड स्टोर्स र रेस्टुरेन्ट नै अहिलेसम्मका लगानी क्षेत्र भएको पाइन्छ । व्यवसायीहरुको लगानीबाट ३०० भन्दा बढी नेपालीहरुले रोजगार पाएका छन् । सीप, दक्षता र भाषा नभएपछि काम पाउन गाह्रो हुनु स्वभाविक हो । यस्तो अवस्थामा नेपालीहरुले मात्र नेपालीलाई सहयोग गर्न सक्छन ।

कमाइ गर्ने धोको बोकेर विदेशिएका हामीहरु अर्काको काम मात्र गर्दा खासै कमाई नहुने र कागजी प्रक्रियाका लागि पाँच छ वर्ष पोर्तुगलमा बसेमा राम्रो हुने हुँदा व्यवसायप्रति आकर्षण बढ्ने गरेको हो । फ्रान्स, नेदरल्यान्ड्स र बेल्जियमजस्तो व्यापारिक दृष्टिकोणले पोर्तुगल उर्वरभूमि त हैन तर यहाँ लगानी गर्दा लगानीकर्तालाई केही मात्रा भए पनि फाइदा चाही हुन्छ नै । लेनदेनको कुरामा अलिकति विकृति चाही देखिने गरेका छन् ।

डेढ दुईवर्ष काम नपाएपछि कन्ट्र्याक्ट र खान मात्र भए पनि काम गर्न तयार भएको प्रस्ताव आउने गर्छन रे। दुईपक्षीय सहमतिमा बिनापैसा काम गरिएका कुरा पनि यदाकदा सुनिन्छन, यसलाई श्रमशोषण भन्न पनि मिल्दैन होला । यसरी दुख गर्‍यो भने कागज बनाउन त पाइन्छ भनेर संघर्ष गरेकाहरु पनि छन् ।

साहित्य र कलाको अवस्था कस्तो छ पोर्तुगलमा ?
- कुमार श्रेष्ठ, अध्यक्ष, नेपाल पोर्तुगल कला, संस्कृति तथा साहित्य सञ्चार परिषद

म सानो छँदा नाच्ने गाउने गर्थे ।  म पोर्तुगल (१९९४) मा आएको पहिलो नेपाली हुँ । जनसंख्या बढ्दै जाँदा हामीलाई हाम्रो संगीत, नृत्य र संस्कृतिलाई निरन्तरता दिनुपर्छ वा जोगाइरख्नुपर्छ भन्ने भावना पैदा भयो । यही कारण कला परिषदको स्थापना गरिएको थियो ।

कला तथा संस्कृतिको संरक्षणका लागि कला परिषदले २००९ र २०१० मा पोर्तुगल ट्यालेन्ट हन्टको आयोजना गरेको थियो । कारणवस २०११ मा आयोजना गर्न सकिएन । २०१२ मा आयोजना गर्ने योजना बनाएका छौ । पोर्तुगलमा साहित्यमा राम्रो कलम चलाउने साथीहरु हुनु हुन्छ । संचारकर्मीहरु पनि राम्ररी स्थापित भएका छन् पोर्तुगलमा ।

परिषदले पोर्तुगीस भाषा कक्षा पनि संचालन गर्ने गरेको छ । नेपाली नानीहरुलाई नेपाली भाषा कक्षा संचालन गर्ने योजना पनि छ । हामीले स्थानीय कलाकारहरुलाई प्राथमिकता दिंदै नेपालबाट कलाकार मगाउनेभन्दा यहि तालिम र अभ्यासको वातावरण मिलाउन जोड दिने गर्दैछौ ।

सात समुन्द्र वारी हुनुहुन्छ, किन चाहियो जनजातिको महासंघ ?
गणेश लिम्बु, कार्यबाहक अध्यक्ष, पोर्तुगल आदिवासी जनजाति महासंघ

पहिचान मानव जातिको पहिलो शर्त हो । भूगोलको हिसाबले जति दूरीमा रहे पनि जनजातिहरुको संस्कृति, परम्परा, भेषभूषा, रितिरिवाज र चालचलन सधै दिलमा सजिएर रहने कुरा हुन । यिनीहरुलाई जोगाउनु हाम्रो कर्तव्य हो ।

वाह्य संस्कृतिहरुको प्रभावले हाम्रा यी गौरवहरुमा विचलन आउंदै लोप हुन थालेका छन् । यिनीहरुको संरक्षण र सम्बर्द्धन हुनुपर्छ ।

जनजातिहरुका यी संस्कृति, परम्परा, भेषभूषा, रितिरिवाज र चालचलनका कारण संसारका करोडौ मान्छेहरुले नेपाललाई चिन्ने गर्दछन । यी संस्कृति, भेषभूषा, चाडपर्व र खानपिन जोगाइराख्न जरुरी छ । विदेशमा पनि हाम्रा यी पहिचान र विशेषतालाई जोगाउन सक्यौ भने नेपालका यी गौरवलाई इतिहासमा बिलिन हुनबाट जोगाउन सकिन्छ । त्यसैले पनि पोर्तुगलमा जनजाति महासंघको स्थापना भएको छ ।

महासंघ जनजातिलाई सचेत बनाउने, गौरवपूर्ण इतिहासलाई जोगाउन पहल गर्ने, जनजातिका हक अधिकारका लागि संगठित गर्दै वकालत गर्ने आदि कार्यक्रमहरु संचालन गर्दछ ।

पोर्तुगलबाट म्याग्दी जिल्लामा निकै पो सहयोग गर्नुभएको छ रे नि हो ?
- मानबहादुर पुर्जा, अध्यक्ष, म्याग्देली प्रवासी नेपाली संघ (MONA), पोर्तुगल

म्याग्दी जिल्लाका लागि म्याग्देलीहरुकोतर्फबाट केही योगदान दिन सकिन्छ कि भन्ने सोचले थुप्रै देशहरुमा म्याग्देली संघको स्थापना हुने गरेका छन । पोर्तुगलमा पनि यसको शाखा स्थापना गरेका छौ । स्थापनापछि म्याग्दी जिल्ला र पोर्तुगलमा आइपरेका समस्या आपतविपतहरुमा एउटा नेपालीले अर्को नेपालीलाई गर्नुपर्ने सहयोगका लागि म्याग्दी जिल्लाबाट यहाँ आउनुभएकाहरुलाई संगठित र जागरुक बनाउने काम मोनाले गरिरहेको छ ।

जिल्लाका मात्र होइन देशका कला संस्कृतिहरुको संरक्षण र सम्बर्द्धनका लागि पनि सक्दो पहल गरिएको छ । मोनाका उद्देश्यहरु पूरा गर्नका लागि दुईजना फरक क्षमता भएकाहरुको आतिथ्यमा लिस्बोनमा खड्ग गर्बुजा सांगीतिक साँझको आयोजना गरिएको थियो ।कार्यक्रमबाट प्राप्त हुन आएको १,२०० युरो सगरमाथा आरोहण गर्ने योजनामा रहेका फरक क्षमताका सुदर्शन गौतमलाई सहयोग गरिएको थियो ।

खेलकुदको विकासका लागि संघले २०१० मा भलिबल प्रतियोगिताको आयोजना गरेको थियो । यो वर्ष जुन १९ तारिखका दिन वनभोजको आयोजना गरिएको छ भने अक्टुबरमा भलिबल प्रतियोगिता संचालन गरिनेछ ।
मोना पोर्तुगलले २००९ मा म्याग्दी जिल्लामा फरक क्षमता भएकाहरुलाई शैक्षिक सहयोगका लागि १,५१,००० रुपैयाँ सहयोग गरेको थियो । दाना गाविसमा विद्यालय भवन निर्माणका लागि ६० हजार र दाना गाविसमा गत साल भएको आगलागीपीडितहरुका लागि ७० हजार रुपैयाँ सहयोग गरिएको थियो ।

पर्यटन वर्षबारे चाइचुइं छैन : 
- कान्छा शेर्पा, अध्यक्ष, युरोप शेर्पा किदुग, पोर्तुगल

सबै नेपालीहरुबीच मनमुटाब हुनु हुँदैन । संस्थाहरुका आ आफ्ना उद्देश्यहरु हुन्छन ती सबैको लक्ष नेपालीहरुको हितमा काम गर्ने नै हो । यो वर्ष नेपालको पर्यटन वर्ष हो । यसका लागि हामीले पनि समन्वय र सहकार्यमा केही कार्यक्रमहरु संचालन गर्नुपर्छ । दुतावास र सरकारी प्रयासमा कार्यक्रमहरु संचालन गर्नुपर्थ्यो । 

डकुमेन्ट्रीहरु देखाउने, पर्यटन वर्षसम्बन्धि प्रचारप्रसार गर्ने र पर्यटन क्षेत्रका आकर्षक स्थान र वस्तुहरुबारे जानकारी दिने प्रयास गरिनुपर्दछ । सम्भवत ढिलै भए पनि पोर्तुगलमा यसको शुरुवात गरिने आशा छ । 

दुई वर्षमा दुतावासको स्थापना गर्न पहल गर्ने :
- रमेश गुरुङ, अध्यक्ष, गैह्र आवासीय नेपाली संघ, पोर्तुगल

पोर्तुगलमा रहेका नेपालीहरुको चाहना अनुसार आगामी दुई वर्षका कार्यक्रमहरुका योजना निर्माण र कार्यान्वयन गरिनेछन । मुख्य रुपमा दुतावासको स्थापनाका लागि सक्दो पहल गरिनेछ ।

नेपालबारे यहाँका पर्यटकहरुलाई जानकारी दिनुपर्छ । पर्यटन वर्षलाई टेवा पुर्‍याउनुपर्छ । व्यापारी वुद्धिजीवीहरुको सहयोगमा बेरोजगारी समस्यालाई जे जति सकिन्छ सम्बोधन गर्न प्रयास गर्नुपर्दछ । 

आप्रवास (immigration) प्रक्रियामा नेपालीहरुलाई सहयोग गर्नुपर्छ । एनआरएनले मोटामोटी रुपमा यिनै कार्यक्रमहरुमा जोड दिने छ ।

पोर्तुगलमा महिलाहरु :
- जयकला राई, सदस्य, एनआरएन पोर्तुगल

पोर्तुगलमा नेपालीहरुमध्ये लगभग १३ प्रतिशत महिला रहेका छन् । यहाँ रहेका नेपाली महिलाहरु धेरैले हाउस किपिङमा काम पाएको देखिन्छ । यसैका कारण भन्ने गरिन्छ, महिलाहरुका लागि काम पाउन अलिक सजिलो छ । महिलाहरुको जिन्दगी पनि संघर्षमय छ । महिलाहरुमा युरोपियन संस्कृतिको प्रभाव पनि देखिन्छ । 

यहाँका संघ संस्थाहरुले नेपाली समुदायलाई लक्षित गरी खासै त्यस्तो उल्लेखनीय पहल गरेको पाइदैन ।
एनआरएन र मैत्री संघले केही तालिम संचालन गरेका थिए । कामदार छनौटमा पहुँचवालाहरुका आफन्त राखेका गुनासा सुनिन्थे । तालिमहरु पनि बीचैमा रोकिए । 

कला परिषद, एनआरएन र मैत्री संघले संचालन गरेका पोर्तुगीस भाषा कक्षाहरु बाहिर प्रचारबाजी गरेभन्दा फरक भए किनकि पहिलो कुरा प्रभावकारिता र दोश्रो निरन्तरता । आगामी दिनमा यस्ता पक्षहरुमा सुधार भए मात्र संघ संस्थाका कार्यक्रमहरु सफल हुने छन् ।