काठमाडौं, १० वैशाख । नेपालका कम्युनिष्ट पार्टीहरुले आज विभिन्न कार्यक्रम गरी ६३ औ कम्युनिष्ट स्थापना दिवस मनाउँदै छन् ।
विक्रम संवत २००६ साल वैशाख १० गतेका दिन पुष्पलाल श्रेष्ठ, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र निरञ्जन गोविन्द वैद्यले कोलकत्तामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए ।
पुष्पलाल श्रेष्ठको अध्यक्षतामा स्थापित उक्त पार्टी अन्तर्गत अहिले नेपालमा एकीकृत नेकपा माओवादी सवैभन्दा ठूलो कम्युनिष्ट पार्टीको रुपमा रहेको छ भने नेकपा एमाले दोस्रो स्थानमा रहेको छ । नेपालमा अहिले कम्युनिष्ट पार्टीको संख्या १४ पुगेको छ जसमध्ये ७ वटाले संबिधान सभामा पनि प्रतिनिधित्व गरेका छन् ।
नेपालका कम्युनिष्टहरु बारम्बार एकता र सहकार्यको कुरा गर्ने गरे पनि विभिन्न खेमामा विभक्त भएका कारण सामुहिक एकता हुन सकेको छैन भने सस्थापकहरुको सपना अपुरै रहेको छ ।
संस्थापकहरुमध्ये अहिले नरबहादुर कर्माचार्य मात्र जीवित रहेका छन् । सर्वहारावादी आन्दोलनलाई अगाडी बढाउन कम्युनिष्ट पार्टी स्थापना भएको बताइन्छ ।
स्थापना दिवसको अवसरमा विभिन्न कम्प्युनिष्ट पार्टीहरुले शुभ कामना संन्देश दिएका छन् । यसै अवसरमा माओवादीले दिउँसो राष्ट्रिय नाच घर र एमालेले प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम गर्दै छन् ।