अध्यागमन कर्मचारीद्धारा शेर्पा थरकी महिलालाई बलात्कार गरेको खुलाशा


काठमाडौ, १३ बैशाख । रातो पासपोर्ट लगायत विविध घटनामा विवादमा तानिएका विमानस्थल अध्यागमनका कर्मचारीको अर्को एउटा डरलाग्दो अपराध फेला परेको छ । अमेरीकामा बस्दै आएकी एक महिलालाई अध्यागमनका एक कर्मचारीले बलात्कार समेत गरेको अनुसन्धानमा देखिएको छ ।  

घटना  करिब ५ महिना अघिको हो । अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनमा कार्यालयमा कार्यरत कार्यालय सहयोगी पूर्णबहादुर बस्नेतले शेर्पा थरकी महिलालाई त्यसरी बलात्कार गरेको घटना अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा खुलेको हो ।  

अमेरिका जान लागेकी ती महिलालाई बस्नेतले तिब्बती शरणार्थी भएको भन्दै रोकेका थिए । त्यसरी रोकेपछि सो दिन बेलुका रकमको बार्गेनिङ गर्न होटल याक एण्ड यती पुगेका बस्नेतले सोही होटलमा ती महिलालाई जर्बजस्ती करणी गरेको स्रोतको भनाइ छ । त्यसरी जर्बजस्ती करणी गरेपछि पनि उनले ती महिलासँग एक लाख रुपैयाँ घुस लिएका थिए । पीडित महिलाले त्यसरी आफूलाई घुस दिन बाध्य बनाइएको र घुस दिएको भिडियो रेडर्कसहित प्रधानमन्त्रीको कार्यालय तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएकी थिइन् । 

तत्कालै बस्नेतलाई निलम्बन गरिएको गत साता मात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्धको मुद्दा बिशेष अदालतमा बुझाएको थियो। बिशेष अदालतले उनलाई धरौटी माग गरेको थियो।   स्रोतका अनुसार अनुसन्धानको क्रममा त्यसरी बलात्कार गरेको समेत खुले पनि पीडित महिलाले भने त्यस विषयमा कतै जाहेरी दिएकी छैनन्। तर उनका श्रीमान्ले सो घटना थाहा पाएपछि घरमा समेत त्यसले तनाव भएको स्रोत बताउँछ । 

कार्यालय सहयोगी पदका भए पनि बस्नेत करोडौं सम्पत्तिका मालिक बनिसकेका छन् । सधैं आकर्षक कार्यालयमा बस्ने उनको काठमाडौंमा करोडौंको बंगला छ भने कार चढेर उनी कार्यालय जाने गर्दछन् ।  त्यसैगरी सोही घुस काण्डमा  विमानस्थल अध्यागमनका कम्प्युटर अधिकृत अधिकृत महेश गौतम पनि निलम्बनमा छन् । विमानस्थलबाट हुने अवैध धन्दाको सबै 'लाइन' मिलाउने काम उनै गौतमले गर्दै आएका थिए ।  

स्रोतका अनुसार गृहमन्त्री विजयकुमार गच्छेदारको पार्टनरका रुपमा चिनिने गौतमले माथिल्लो तहसम्म लाइन मिलाउने गर्दथे । बंगलादेशी नागरिकलाई नेपाली पासपोर्टमा बिदेश उठाउने, तिब्बती शरणार्थीलाई अवैध रुपमा युरोप अमेरिका पठाउने जस्ता काममा उनै गौतमको संलग्नता थियो ।  

तीन वर्षभन्दा लामो समयदेखि विमानस्थल अध्यागमनमा बस्दै आएका उनले यो अवधिमा करोडौंको सम्पत्ति जोडिसकेको स्रोत बताउँछ । धापासीमा उनको करोडौंको घर बनाइसकेका छन् । तर, भ्रष्टाचार र अकुत सम्पत्ति कमाउनेहरुमाथि अनुसन्धान गर्ने अख्तियारले उनको अवैध सम्पत्तिमाथि पनि छानबिन गर्न सकेन । स्रोतका अनुसार कार्यालय सहयोगी बस्नेत र अधिकृत गौतमले भ्रष्टाचार गरेर नै रातारात करोडपति बनेका व्यक्तिहरु हुन् । उनीहरुको सम्पतीको छानबिन नहुनलाई आश्चर्यपूर्वक लिइएको छ ।