वेल्जियममा कम्युनिष्ट पार्टी स्थापना दिवश


नमस्तेनेपाली सम्बाददाता, बेल्जियम । आज २२ अप्रिल २०१२ का दिन वेल्जियमको एन्टवेर्पेन शहरमा १४३औं लेनिन जयन्ति तथा नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवश  “१४३औं लेनिन जयन्ती तथा नेकपा स्थापना दिवश भव्यताका साथ मनाऔं, दक्षिणपन्थि सुधारवादको भण्डाफोर गर्दै मालेमावादको वाटोमा अघी वढौं” भन्ने मूल नाराका साथ नेपाली जनजाती सरोकार मंच युरोपका अध्यक्ष रामवहादुर गुरुङको अध्यक्षतामा विभिन्न प्रगतीशिल संगठनहरुको आयोजनामा भव्यताका साथ सम्पन्न भयो ।


ज्ञात अज्ञात महान शहिदहरुको संझनामा एक मिनेट मौनधारण गरी कार्यक्रमको सुरुवात भयो । कार्यक्रमको अध्यक्षता ग्रहण गर्ने क्रममा जनजाती सरोकार मंच युरोपका अध्यक्ष रामवहादुर गुरुङ्गले माक्र्सवादलाइ पेरिस कम्युन पछि लेनिनले रुसमा सफल प्रयोग गर्दै समाजवादी क्रान्ति सम्पन्न गर्न सफल भयो र यसको प्रभाव चीन हुदैं विश्वव्यापी भएको थियो । मालेमावादको प्रयोग स्वरुप आजैका दिन २००६ सालमा नेपालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको चर्चा गर्दै वर्तमान राजनीतिक संक्रमणकाल चर्मौत्कर्षमा गइरहेको अवस्था अनुसार अव बन्न गइरहेको संविधानमा हिजो जनयुद्धकाल देखी उठाइंदै आएको जनताका मागहरुको सम्वोधन स्वयं माओवादी पार्टीले नै छोडदै गैरहेको छ भन्ने कुरा हालसालै सम्विधान नवन्दै अपमानजनक ढंगले भएको जनसेनाको विघटनले पनि प्रमाणित गरेको छ भन्नुभयो ।

नेपाली जनप्रगतीशील मंच वेल्जियमका पूर्व अध्यक्ष तथा वर्तमान केन्द्रिय सल्लाहाकार विष्णु भुजेलले हाल एनेकपा माओवादी भित्र वैचारिक संघर्ष वढदै गएर कथित संस्थापन पक्षले क्रान्तिका पक्षधरहरुलाइ सडक सम्म पुग्न वाध्य गराएको छ । हिजो दिनमा भारतले नेपाल माथि लादेको असमान सन्धिहरुको एनेकपा (माओबादी) ले घोर विरोध गर्दै आईरहेको थियो । आज माओवादीकै सरकारले राष्ट्रघाती विप्पा संझौता गर्नाका साथै भारतको दवावमा आएर अप्पर कर्णाली योजना उसैलाई नै दिन प्रतिवद्ध जनाउदै भारतीय विस्तारवादको सेवा गरेको देख्नु आश्चर्यको कुरा भएको छ । अव वन्ने सम्विधानमा कस्तो प्रकारको शासकीय स्वरुपको संघीयता हुने हो त्यसको निक्र्यौल नभइ प्रत्यक्ष निर्वाचनद्धारा राष्ट्रपती निर्वाचन हुने भन्ने मात्र प्रचार गरिएको छ । 

भोली प्रतिकृयावादी शासकीय स्वरुप भएको संघियतामा राष्ट्रपती निरंकुश हुन सक्ने प्रवल सम्भावनालाई प्रत्यक्ष निर्वाचनद्धारा राष्ट्रपती चुनिने माओवादी एजेण्डा हो भन्ने भ्रम अहिले स्वयं माओवादीका कथित संस्थापन पक्षले दिईरहेका छन ।  जनयुद्धकालका जातीय, क्षेत्रिय स्वायत्त शासन र महिला तथा दलितलाइ दिनुपर्ने विषेशाधिकार जस्ता जनताका मागहरु एकपछी अर्को गर्दै संस्थापन पक्षले छोड्दै गैरहेका छन ।  अब वन्ने संविधानमा पनि साम्राज्यवाद, बिस्तारबाद तथा प्रतिकृयावादीहरुसंगको साथगाँठमा जनताको माग सम्वोधन नहुने भएकोले अहिले एनेकपा (माओवादी) मा पार्टी भित्र पार्टी, योजना भित्र योजना र विचार भित्र विचार हुदै एउटा क्रान्तिकारी हिस्सा आम नेपाली जनताका मुक्तिका लागी आन्दोलनरत छ भन्नु भयो । 

कार्यक्रममा सहभागी जनजाती सरोकार मंच युरोपका महासचिव वदन योंङ्हांगले पनि नेपालको वर्तमान राजनीतिक अवस्था वारे संक्षिप्तमा चर्चा गर्नु भयो । त्यस्तै गरेर नेपाली प्रगतिशील महिला मंच, बेल्जियमकी महासचिव शुशिला पराजुलीले स्वागत मन्तव्य राख्ने क्रममा अन्तररास्ट्रिय  कम्युनिष्ट आन्दोलनमा क. लेनिनका योगदान बारे चर्चा गर्नु भएको थियो । 

नेपाली जनजाती सरोकार मंच वेल्जियमका महासचिव सोमनारायण थनेतले बडो मेहनतका साथ शेर्पाले विदेशी पर्वतारोहीलाई गाइड गर्दै शिखर पुर्याउछ । तर नाम शेर्पाको नभै अरु कसैको रहन्छ । त्यस्तै उत्पीडित आदिबासी जनजातीहरुलाई प्रयोग गर्दै सरकारमा पुगेर तर मार्ने गैर जनजाती नै हुने गरेको छ । त्यसैले हामी आँफै पनि बर्गीय चेतना जगाउनको लागि सचेत हुनु पर्ने कुरालाई मार्मिक उदाहरण दिएर रोचक ढंगले राख्नु भएको थियो ।

नेपाली जनप्रगतीशिल मंच वेल्जियमका केन्द्रिय सदस्य श्याम श्रेष्ठले पनि आफ्नो मनतव्यको क्रममा समसामायिक विषयहरुमा प्रकाश पार्नु भयो ।साथै डिल्ली अमगाइले राज्यसत्ता र वर्ग शिर्षकको दार्शनिक कविता वाचन गर्नु भएको थियो ।

उल्लेखनीय उपस्थिती रहेको यो लेनिन जयन्ती तथा नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवस कार्यक्रमको संचालन नेपाली जनप्रगतीशिल मंच वेल्जियमका महासचिव प्रेम पाठकले गर्नु भएको थियो । कार्यक्रमको अन्तमा संयुक्त राष्ट्रिय जनआन्दोलन समिती, नेपाल द्धारा अगाडी बढाईएको  अब बन्ने नयां सम्विधानमा समावेश गरिनु पर्ने २१ वटा मागहरुको समर्थनमा एक्यबद्धता जनाउदै हस्ताक्षर अभियान आज देखी बेल्जियममा पनि औपचारिक रुपमा शुरु गरिएको छ ।सोही अनुसार  मगर राष्ट्रिय मुक्ति मोर्चा बेल्जियमका अध्यक्ष कुल ब. मगरले हलमा उपस्थित सबैलाई औपचारिक रुपमा शुरु गरिएको 'हस्ताक्षर अभियान' बारे जानकारी गराउदै हस्ताक्षर संकलन गर्नु भएको थियो ।