काठमाडौं, ९ बैशाख । शनिबार आमाको मुख हेर्ने दिन, मातातीर्थ औंसी । आमासितै भएका र भेट्न जान सजिलो भएकाहरुले मीठामीठा खानेकुरा दिएर आमाप्रति सम्मान र श्रद्धा व्यक्त गरे । आमालाई भेट्न जान नसकेकाहरुले फोन गरे । आमा नभएकाहरु मातातीर्थसम्म पुगेर आमालाई सम्झे ।
यो भन्दा बढी सम्झना र भावना देख्न पाइन्छ, सामाजिक सञ्जालमा । सामाजिक सञ्जाल फेसबुक र ट्वीटर प्रयोगकर्ता बढेसागै आमाको नाममा पोखिएका भावना र सम्मान छताछुल्ल रुपमा देख्न पाइन्छ ।
कतिले आमाको नाममा कविता र गजल उतारेका छन्, कतिले आमा भेट्न नपाएको भावना पोखेका छन् । कतिले आमाको महिमा र गुणगान गाएका छन् । फेसबुकमा आमाप्रतिको भावना पोखिएका कविता र गजल यस्ता छन् :
१.
प्रसव हुँदा पोखिएका, खुन भुल्दिन आमा !
दश धारा चुसाएको, थुन भुल्दिन आमा!!
हजुर नै पहिलो गुरु, क ख चिनाएको !
स्लोक भन्दै पढाएको, धुन भुल्दिन आमा !!
बाल्यकालमा जिद्दि कस्तो, माग कतिकति !
अभाव हुनै नदिएको, गुण भुल्दिन आमा !!
घरबाटै रासन पानी, माया पनि कस्तो !
पठाएको दाल चामल, नुन भुल्दिन आमा !!
इच्छाहरु अनेकौं छन्, हजुरका कठै !
पढाउन बेचेका ती, सुन भुल्दिन आमा !!
२.
झिकेर मुटुको टुक्रा आँखाभित्र अटाउँछिन्
भोकभोकै बसी आफू छाती चुस्न खटाउँछिन् ।
जिन्दगी बन्छ आमाले खाएको गाँसगाँसमा
सिर्जनामूल हुन् आमा स्रष्टाको इतिहासमा ।
कोखबाट निकालेर यो धर्ती टेक्न लाउँछिन्
तातेताते भनी मीठो तोते बोली सिकाउँछिन् ।
राखेर काखमा नानी कहिले गीत गाउँछिन्
बालो सुतोस् भनी आमा हातले थुम्थुम्याउँछिन् ।
नानी उठ्छ भनी राति अल्पअल्प निदाउँने
नानी रुन्छ भनी चाँडै अन्तबाट बिदा हुने ।
नानीकै साथमा खेल्छिन् काखकाखै नचाउँछिन्
आमाले नै विधाताको सृष्टिलाई बचाउँछिन् ।
३.
नौ महिना कोखमा राखी मलाइ जन्म दियौ आमा
मेरो लागी संसारमै तिमी मात्रै थियौ आमा
आफु कमजोर हुदा पनि, दस्धारा दुध खुवाइरह्यौ
मलाइ ठुलो वनाउने जिम्मेवारी लियौ आमा
पढाइ लेखाइ ठुलो वनाइ यो संसारमा चिनाउन
खेती किसान ढिकी जातो, दुखी जिवन जियौ आमा
काम गर्न लगाएनौ मलाइ दुःख हुन्छ भनि
सारा पीर दुः ख कष्ट मनमै राखी सियौ आमा
वुढेसकालमा सहारा दिइ सुखसंग पाल्ने आसमा
मलाइ अमृत पिलाएर आफुले विष पियौ आमा
सुन्दर सपना मनमा साँची हाड छाला घोटिरह्यौ
धेरै दुःख ग¥यौ तिमिले दुव्लाएर खियौ आमा
नौ महिना कोखमा राखी मलाइ जन्म दियौ आमा
मेरो लागी संसारमै तिमी मात्रै थियौ आमा
४.
संसारमा नै प्रिय, स्पर्श आमाको ।
सत्मार्ग दर्शउने, आदर्श आमाको ।
म गर्नु सकुँ, सधैभरी न्याय अनि
सपना सबै पुरा, सहर्ष आमाको ।
आर्शीबादको अन्जुलि, दिई राख्नु है
भुलेरनि नर्बिसुँ, संर्घर्ष आमाको ।
खुसी राख्न सकु, सुखि राख्न सकु
हरपल हरक्षण, हरबर्ष आमाको
५.
‘को खा को खा’ भनी खाना नानीलाई खुवाउँछिन्
बगाई दूधको धारा शिशुलाई नुहाउँछिन् ।
मातृवात्सल्य रित्तिन्न जस्तै दुःख भए पनि
बचरा गुँड छोडेर टाढाटाढा गए पनि ।
आमाको रूप बिग्रन्छ सन्तान जन्मिएपछि
सन्तान पर भै जान्छन् डोलीमा अन्मिएपछि ।
तैपनि हुन्छ यो सारा आमाका निम्ति गौरव
आमा निःस्वार्थ देवी हुन् कसरी नभनूँ अब !
जिन्दगानी रहेसम्म आँखाले देख्न पाउलान्
आफ्नो शक्ति भए मान्छे सेवामा जुट्न आउलान् ।
धर्तीमै छ सबै चीज खोजे मिल्छ घरीघरी
तर जन्म दिने आमा पाइँदैन कसै गरी ।
६.
आमा तिमी जन्मदिने मलाई ,
आमा तिमी प्रणा दिने मलाई,
आमा तिमी बोट म फूल त्यस्को.
हो दान तिम्रै जति जे छ मेरो,…।
धर्तीमै छ सबै चिज खोजे मिल्छ घरी-घरी
तर जन्म दिने आमा पाईंदैन कसै गरी
आमा तिमी जन्मदिने मलाई ,
आमा तिमी प्रणा दिने मलाई,
आमा तिमी बोट म फूल त्यस्को.
हो दान तिम्रै जति जे छ मेरो,
“दण्डवत गर्छु हे आमा तिम्रो छोएर चरण,
सक्दिन आमा गर्न, तिम्रो ममताको बर्णन।”
७.
सबै भन्दा महान छिन आमा
आफैमा चरित्रवान् छिन आमा !!
थरी थरी सन्तान छन उस्का
तर सबैमा समान् छिन आमा !!
पुजा गर्छु उन्लाई म जहिले
दुर्गा को पहिचान छिन आमा !!
आफ्ना बच्चाको संरक्षण गर्न
जहाँ नी बलवान छिन आमा !!
सम्मान अनी सेवा गर्छु उन्को
इश्वरको बरदान् छिन आमा !!
अरुका रचना र आफ्ना समेत केही थपथाप गरेर धेरैले फेसबुक स्टाटसमा यसरी आमाप्रतिको श्रद्धा र सम्मान व्यक्त गरेका छन् । आमा कत्तिको महान छिन् भन्ने कुरा फेसबुकमा छताछुल्ल पोखिएका यी भावनाबाटै प्रष्ट हुन्छ । कविता र गजलसागै कतिले आमाप्रतिका उद्गार र विचार पनि पोखेका छन् ।
…..…चुरा पोते सिँदुर अनि चौ बन्दिमा खुल्न सक्नु मेरी आमा
काँडा हरु पंछाउदै अघि बढ्ने गर्नु
खुसी मा रम्दा रम्दै दु:ख परे मलाइ हेरी दु:ख सबै भुल्न सक्नु मेरी आमा
अरुको लाख भन्दा मलाइ आमाको काख नै प्यारो थियो तर आज आमा भन्दा धेरै टाढा छु आजको दिनमा आमाको मुख हेरेर आमा लाइ आमा भन्दा कति खुसी हुन्थीन होला मेरी आमा मनमा कस्तो पिर परेको छ मलाइ तर पनि आजको दिन आमाको फोटो हेरेर चित्त बुझाउ छु र सँधै सँधै मेरी आमालाइ माया गर्छु । कतिपय साथीका आमानै छैनन होला साथि हरु मन नदुखाउनस यदि आमालाइ चोखो माया गर्नु हुन्छ भने आमा आफ्नै अगाडी प्रकट हुनु हुन्छ कृपया मन नदुखाउ ल आफ्नी आमा को खुसीको लागी ………….
………..बिस्तारै ठूलो भएँ, शहर पानि पँधेरो बन्यो, छोटा छोटा कपडा मा देखिने चम्किला ति शरिरले मलाइ तर्साउँथ्यो, आफै देखेर म सोझो लाग्थेँ, कोहि बोल्ने आँट गर्दा पनि भिजेको बिरालो जस्तो बन्थेँ । आज मेरि आमा सम्झाउनु हुन्छ बाबु उत्ताउलो नबन्नु, राम्रो पढ्नु । फोन छ हातमा तर बिजि हुन्छ प्राय ! मेरि आमा भन्नु हून्छ कहिले काँहि त मलाइ पनि फोन गरन न छोरा ! सोच्छु मेरि आमालाइ आज सम्म मैले धेरै भुलेको रहेछु । बाबु राम्ररि पढ्छ, ज्ञानि छ भन्दा म मौन बस्नु बाध्यता बनेको छ । सानो मा त दुख दिएँ नै तर ठूलो हुदा समेत म आमा सँग कहिल्यै मिठो बोल्न सकिन कि जस्तो लाग्छ, बिरामि बन्दा नजिकै हुन सकिन तैपनि मेरि आमा बाबु पढ्दा पढ्दा भोक लाग्छ फलफूल मिठो खाजा खाएस है भन्दै पैसा थमाइ दिनुहुन्छ , आमाको मायाले साच्चिकै मलाइ सोच्न बाध्य बनाएको छ, के म सहि गन्तब्य तर्फ उन्मुख छु त ? मातातिर्थ औँसि आउनुपूर्व आमा सँग फोनमा भनेँ मेरो परिक्षा छ, मन भएर पनि आउँन सकिन आमाको आर्शिबाद लिन । आमाले खुशि हुँदै भन्नुभयो बाबु परिक्षा राम्ररि दिनु, परिक्षा सकिएकै दिन घर आउनु है ! आखिर आमाको माया न हो । ……………
………मन्दिर पनि होइन ,भगवान पनि होइन आमा भन्दा पनि ठुलो भगवान मेरो छैन ………
………..माया दियौ, ममता दियौ
सहेर दु:ख कष्ट संसार देखायौ
आमा तिमी देबी हौ ……..
………दश रुपैयांको फोन गरेर आमाको मुख हेरियो । कन्जुस् म ।
दशधारा दुध खुवाएकी मेरी आमा घर कहिले आउछस् भन्दै थिईन् । म खर्च अभावमा आफ्नै देशमा प्रवासी ।……….
……….मलाई कोखमा हुर्काउँदा कत्ती मर्का पायौ आमा? फाटेका ती गुन्यू-चोली कत्ती बर्ष लायौ आमा?? मेरै लागी पकाउँथ्यौ को खाइ भनी फकाउँथ्यौ एकै गाँस नी मलाई खुवाइ तिमीले के खायौ आमा ?? एकै सरो नयाँ लाइनौ एक छाक पनि मिठो खाइनौ साहूको ढिकि जाँतो कत्ती साँझ-विहान धायौ आमा?? सधैँ मेरै साथमा हुन्थ्यौ अङगालोमा बेर्दै रुन्थ्यौ छात्ती माथि मुन्टो अड्याइ आशु कत्ती बगायौ आमा ??…………..
………..आज आमाको मुख हेर्ने दिन | घर छोडेर परदेशिएको करिब २ वर्ष हुन लाग्यो र त्यति नै समय भयो आमाको प्रत्यक्ष मुख देख्न नपाको पनि | यसरी लामो समय घर छोडेर कहिल्यै हिडेको थिएन यो भन्दा पहिले | सन्तानहरु जन्माए ,खाई नखाई कति दुख ज्यालो गरेर हुर्काए ,अहिले कोहि धन कमाउने नाममा बिदेशिए, कोहि पढ्न भनि शहर पसे, कोहि आफ्नो कर्मघर लागे | चराको बचेराले गुड छोडे झैँ छोडेर सबै लाखापाखा लागे | तर मेरी आमालाई कहिल्यै सुख भएन | अहिले पनि त्यहि बन पाखा चहारेर घाँस दाउरा गर्नै पर्छ | कहिले मलको कहिले परालको भारी बोकेर त्यो लामिडाडाको उकालो उरालो गरि लेकबेसी गर्ने पर्छ | कहिलेकाही फोन गर्यो आफु बोल्न नपाउदै बाबु त सन्चै छस्? तैले भात खाइस् भनेर सोध्न भ्याउनुहुन्छ | लामो समयदेखी त्यति स्वस्थ पनि हुनुहुन्न तर हातखुट्टा चल्दा सम्मत हामी दुख गरिहाल्छौ नि ,किन पिर गरेको आफ्नो ख्याल गर भन्नुहुन्छ | खै किन हो आज आमाको मुख हेर्ने दिन भएर हो कि क्या हो ज्यादै आमाको सम्झनाले सताईरहेको छ | प्रण गर्दछु आमालाई सुखीसाथ राख्न नसके पनि खुशी साथ राख्ने प्रयत्न गर्नेछु |………………
…….आमाले जन्मेदेखि कति कर्तव्य निभाउँनुभयो ?
या आमालाई कर्तव्यले निभायो ?
यसको हिसाब छैन आमासँग ।………………..
यसरी कतिले आँखा रसाउंदै भावनामा डुबेर आमालाई सम्झेका छन् । फेसबुक र ट्वीटर लगायतका सामाजिक सञ्जालमा पोखिएका यी भावबाटै प्रष्ट हुन्छ संसारमा आमाभन्दा ठूलो अरु कोही छैनन् । आमाले भन्दा बढी माया अरुबाट पाउन पनि सकिादैन । आमाप्रति श्रद्धा, सद्भाव, माया र सम्मान प्रकट गर्ने सबै छोराछोरीले वर्षमा एक दिन मात्रै होइन, हरबखत आमाको ख्याल गर्न सकून् । शुभकामना ।
- अनलाइनखबरबाट