काठमाण्डौ, ९ बैशाख । मनग्य पैसा कमाएर घर परिवार सुखी राखौंला भन्ने सपना बुनेर जापान आएका एक नेपालीले राम्रो काम र दाम त परै जाओस, सामान्य रोजगारी नै नपाएपछि आत्महत्या गरेका छन् ।
जापानको साइतामा केनस्थित नदीमा तैरिरहेको अबस्थामा बुधबार राति भेटिएका बाग्लुङ नरेठाँटी- ३ का योगेन्द्रप्रसाद गैरको हत्या नभई मृत्यु भएको अनुसन्धानमा प्रहरीले बताएको छ ।
उनको मृत्युबारे जानकारी लिन साइतामा केन पुगेको एनआरएन जापानको टोलीसँग अनुसन्धानमा संलग्न प्रहरीले शरिरमा कतै चोट नभेटिएको र पानीमा तैरिरहेको अबस्थामा भेटिएकाले आत्महत्या हुनसक्ने बताएको छ ।
त्यसक्षेत्रमा रहेका सीसीटीभी क्यामेराले खिचेको दृष्यमा गैरेले केही दिनदेखि सडकमा मागेर खाँदै आएको खुलेको एनआरएन आईसीसी प्रतिनिधि अरुणकुमार श्रेष्ठले जानकारी दिनुभयो । एनआरएन अध्यक्ष ओम गुरुङ, उपाध्यक्ष बिष्णु रेग्मी, कोषाध्यक्ष नरबहादुर थापा लगायतको टोली जानकारी लिन साइतामा पुगेको टोक्यो नेपाल डटकमले बताएको छ ।
कामको खोजीमा फुकुओका, फुकुसिमा हुँदै साइतामा पुगेका गैरे बेरोजगार भएपछि आत्महत्या गरेको हुनसक्ने प्रहरीले बताएको उहाँहरुले जानकारी दिनुभयो । उनी कुक भिसामा जापान आएका थिए ।
अहिलेसम्म गैरेको परिवार शव जिम्मा लिन प्रहरीसम्म पुगेको छैन । परिवार आए शव जिम्मा लगाउने प्रहरीले बताएको छ । नेपालमा रहेको गैरेको परिवारमा बुबाआमा, श्रीमती र दुई छोरा रहेका छन् ।