काठमाडौं, १२ बैशाख । एकीकृत नेकपा माओवादीमा अब एउटा पार्टी दुईवटा विचार समूहमात्र रहेन । उपाध्यक्ष मोहन वैद्यले केन्द्रदेखि स्थानीय तहमा समेत अलग्गै संरचना बनाएपछि पार्टी दुईवटा भइसकेको तर घोषणा गर्नमात्र बाँकी रहेको छ । संस्थापन पक्षका विरुद्ध आन्दोलन गर्दै आएको उपाध्यक्ष मोहन वैद्य समूहले संघर्षअन्तर्गत जनवर्गीय संगठनहुँदै राज्य समितिमा समानान्तर संगठन बनाएर केन्द्रमा समेत अलग्गै संरचना निर्माण गरेका छन् ।
समग्र मुलुकलाई तीनवटा क्षेत्रमा विभाजन गरी पूर्व, मध्य र पश्चिम कमान्डमा विभाजन गरेर कार्यविभाजन गरेको माओवादीले केन्द्रमा उपाध्यक्ष वैद्यलाई संरक्षक बनाई अध्यक्षको जिम्मा महासचिव रामबहादुर थापा बादललाई दिएको छ । बादललाई वैद्य समूहले अवकाशमा गएका र अयोग्य ठहर भएका लडाकुलाई संगठित गरी नयाँ सेनाको सैन्य इन्चार्जसमेत तोकेको बताइन्छ । माओवादीले सशस्त्र युद्ध गर्दा मुलुकलाई तीन कमान्डमा विभाजन गरेको थियो । अहिले वैद्य पक्षले समेत सोही बेलाको जस्तो तीनवटा कमान्डमा विभाजन गरेको छ । विभाजित कमान्डको औपचारिक जिम्मेवारीसमेत तोकिइसकेको छ । जसमध्ये पूर्वमा सीपी गजुरेल, मध्यमा रामबहादुर थापा र पश्चिममा नेत्रविक्रम चन्द रहेका छन् ।
त्यसैगरी केन्द्रमा समेत अलगै संरचना तयार पारे पनि यसको कार्यकर्तामाझ औपचारिक घोषणा गरिएको छैन । केन्द्रमा आन्तरिक विवाद मिलाउनका लागि मोहन वैद्य संरक्षक, रामबहादुर थापा अध्यक्ष, सीपी गजुरेल र देव गुरुङ उपाध्यक्ष तथा महासचिवमा नेत्रविक्रम चन्द रहेका छन् । केन्द्रीय सचिवमा भने पम्फा भुसाल र खड्कबहादुर विश्वकर्मालाई जिम्मा दिने तयारी गरेका छन् । वैद्य पक्षले केन्द्रीय संरचनाको औपचारिक घोषणा गर्दा पार्टी विभाजनको आरोप लाग्ने भएकाले त्यसको जानकारी गराएको छैन । अधिकांश जनवर्गीय संगठन आफ्ना पक्षका भएकाले वैद्यपक्षले जनवर्गीय संगठनमा समानान्तर समिति निर्माणमा जोड दिएको छैन ।
अहिले वैद्य पक्ष राज्य समितिमा आफू निकटका नेता नभएको स्थानमा समानान्तर संगठन निर्माणमा लागेको छ । राज्य समितिमा समानान्तर संगठन निर्माण गरीसकेपछि जिल्लास्थित संगठन निर्माणमा लाग्ने उच्च स्र्रोतले बताएको छ । एकीकृत माओवादीले आफ्नो संगठन निर्माणलाई सहर केन्द्रितभन्दा पनि दुर दराजलाई बढी महत्व दिएको बताइन्छ । स्रोतले भन्यो, 'सहरियाहरु माओवादी लडाकु कुनै न कुनै रूपमा नेपाली सेनामा विलय भएको हेर्ने चाहन्थ्यो त्यो भएकाले हाम्रो अभियानलाई दूरदराजमा रहेका जनता मात्र समर्थनमा रहेकाले संगठनमा निर्माणको मुख्य केन्द्र दूरदराज भएको हो ।' पहिलो चरणमा दूरदराजको संगठन आफ्नो पक्षमा लिएर दोस्र्रो चरणमा सहरको संगठनलाई महत्वका साथ हेरिने माओवादी बैद्य पक्षीय स्रोतले बतायो । त्यसैगरी जिल्ला संगठन निर्माण गर्दा संगठनको नेतृत्व शिविरबाट अवकाश लिएर गाउँ फर्केका लडाकुलाई दिने तयारीमा बैद्य पक्ष लागेको छ ।
चैत्र २८ गते अकस्मात माओवादी लडाकुका शिविरमा नेपाली सेना तैनाथ गरिएको भन्दै असन्तुष्ट बनेका लडाकु समेटेर जिल्ला संगठनको जिम्मेवारी दिने तयारी वैद्य पक्षको रहेको छ । वैद्य पक्षले अधिकांश लडाकुलाई पार्टीको महत्वपूर्ण जिम्मेवारीमा समेट्ने तयारी समेत गरेको छ ।
उपाध्यक्ष मोहन वैद्य समूहको लडाकु र संस्थापन पक्षको उपेक्षामा परेकाहरूलाई समेट्ने योजना रहेको छ । त्यसैगरी राज्यको पुनर्संरचनामा संस्थापन पक्षको नीति हेरेर जनजातिलाई समेत महत्वपूर्ण जिम्मेवारीमा समेट्ने योजनामा वैद्य पक्ष रहेको छ । महासचिव रामबहादुर थापाले अवकाशमा गएका लडाकुहरूसँग आत्माआलोचना समेत गरेर महत्वपूर्ण जिम्मेवारी दिनेसमेत बताइसकेका छन् । वैद्य पक्षले संगठनमा समेट्ने महत्वपूर्ण योजनामा रहेको अर्को समूह भनेको अहिले वाईसीएलको नेतृत्वमा रहेका पूर्वलडाकुहरू रहेका छन् ।