१५ दिन देखि बन्धक बनाईएका ६ महिलाको उद्धार


काठमाण्डौ, १० बैशाख । वैदेशिक रोजगारमा पठाईदिने प्रलोभनमा बन्धक बनाएर राखिएका ६ महिलाको प्रहरीले शनिबार राती उद्धार गरेको छ । प्रहरीले दलालीमा संलग्न एकजनालाई पनि पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग कमलपोखरीले काठमाण्डौको हाँडीगाउँ स्थित एक घरमा छापा मारेर बन्धक बनाईराखेका महिलाहरुले उद्दार गरेको हो । एकै घरमा थुनेर राखेको अवस्थामा रहेका १७ देखि ४२ बर्षसम्मका महिलाहरुलाई प्रहरीको टोलीले उद्दार गरेको छ ।


वैदेशिक रोजगारीका लागि भारत हुँदै कतार र कुबेत पठाईदिने भन्दै ति दलालहरुले १५ दिन देखि उनिहरुलाई बन्धक बनाएर राखेका थिए । बन्धक बनाएका कसैको पनि राहदानी नभएकोले उनिहरुलाई भारतका विक्री गर्न लागिएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।

१६ जना महिलालाई बन्धक बनाएर राखेको जानकारी पाएपछि उक्त घरमा छापा मारेको प्रभागले जनाएको छ । बन्धक बनाएर राखेकी उर्मिला परियारले भागेर प्रहरीलाई खबर गरेकी थिइन् । बैदेशीक रोजगारीमा पठाउने भने पनि उनिहरुले बेच्न लागेको आशंका लागेर आफू भागेको उर्मिलाले बताएकी छन् ।

एक दलाल गंगा लिम्बूसहित उद्दार गरिएका गीता थापा, मनकुमारी लिम्बू, इन्द्रमाया दमाई, चण्डिका सेढाई, उर्मिला परियारलगायतलाई प्रहरीले प्रहरी हिरासतमा राखेको छ । बन्धक बनाउने भनिएका मुख्य आरोपी भने फरार रहेको प्रहरीले जनाएको छ ।
- नयाँ पत्रिका