काठमाडौ, ३ जेठ । अखण्ड सुदूरपश्चिम माग गर्दै २० दिनदेखि जारी आन्दोलन बुधबार साँझदेखि स्थगित भएको छ ।
आफ्ना मागप्रति राजनीतिक दलको प्रतिबद्धता विश्वासयोग्य रहेको भन्दै आन्दोलन स्थगित गरिएको सुदूरपश्चिम सयुक्त संघर्ष समितिका सदस्य गोविन्द कडायतले जानकारी दिए । "तत्काललाई आन्दोलन स्थगित गर्यौं," उनले भने ।
अखण्ड सुदूरपश्चिम माग गर्दै जारी बन्दले जनजीवन प्रभावित भएपछि संघर्ष समितिका ३६ नेता सरकारसँग वार्ता गर्न काठमाडौं आएका थिए । राजधानीमा रहँदा उनीहरुले शीर्ष नेता र सरकारी वार्ता टोलीसँग पटक-पटक वार्ता गरेका थिए ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनालले विज्ञप्ती जारी गरी अखण्ड सुदूरपश्चिम मागप्रति सकारात्मक रहेको बताउँदै थारु बाहुल्यता रहेको क्षेत्रमा जनमत संकलन गर्ने प्रतिबद्धता जनाएका थिए ।
तीन दलबीच मंगलबार भएको सहमतिमा सुदूरपश्चिमलाई एउटै प्रदेशमा राखेपछि संघर्ष समिति आफ्नो मागमा आश्वस्त भएको हो ।

















