खेमनाथ पौडेल, अबुधाबी । गत शुक्रवार यूएईको पश्चिम क्षेत्र हफ्सान भन्ने ठाउँमा रहेको हुण्डाई ईञ्जिनियरिङ्ग कम्पनीमा कार्यरत नेपालीहरु तथा वंगालीहरुबीच भएको कुटपिटमा ५ जना नेपालीहरुको मृत्यु भन्ने समाचार हल्ला मात्र भएको र उक्त कुटपीटमा कोही पनि नेपालीहरु हताहत नभएको पुष्टी भएको छ ।
कुटपिटमा घाईते भएका वंगाली तथा नेपालीहरु अस्पतालबाट डिस्चार्ज भई कम्पनीको काममा फर्किसकेको वताइएको छ । नेपाली राजदूतावास यूएईका प्रथम सचिव लोकबहादुर क्षेत्रीले दिएको जानकारी अनुसार उक्त कुटपिटमा ३ जना नेपालीहरु खल्लीबल्लीमा रहेका र २ जना क्याम्पबाट भागेर साथीहरुको सम्पर्कमा आईसकेका छन् भने १ जना नेपाली भने पुलिसको हिरासतमा रहेको छन ।
खल्लीबल्लीमा काम गर्ने भएको हुनाले उनीसंग कुनै लिगल डकुमेन्ट नभएको कारण र घाईते पनि भएको हुनाले पुलिसको हिरासतमा रहेको र अहिलेसम्म उनको बारेमा पुलिसले रिपोर्ट नदिएको जानकारी गराए । शुक्रवार उक्त क्याम्पमा एकजना वंगालीको मृत्यु भएको थियो, मृत्यु भईसकेपछि नेपालीहरुले त्यति वास्ता नगरेको निहुँमा वंगालीहरुले नेपालीहरुमाथि हमला गरेको क्षेत्रीले वताए । हुण्डाई कम्पनीको संवन्धित व्यक्तिसंग सम्पर्क गरी विशेष गरेर नेपालीहरुको सुरक्षाकोबारेमा ध्यान दिन आग्रह गरेको क्षेत्रीले बताए ।
उनले नेपालीहरु कुटिएको रिसमा वंगालीमाथि जाई लाग्न पनि सक्ने हुँदा उक्त दुर्घटना हुनबाट रोक्न कम्पनीले ठोस कदम चाल्नु पर्ने वताए । विशेष गरेर नेपालीहरु बस्ने क्याम्प कत्तिको सुरक्षित छ, कस्तो अवस्थामा नेपालीहरु रहेका छन् दूतावासबाट स्थलगत निरीक्षण गर्ने सम्वन्धमा पनि कम्पनीमा आग्रह गरिएको दूतावासका क्षेत्रीले वताए ।

















