मन्त्रीलाई न काम, न ठाउँ


काठमाडौं, ५ जेठ । नेपाली कांग्रेसका सभासद सूर्यमान गुरुङ मन्त्री नियुक्त भएको दुई साता बित्न लाग्यो। उनले अझै आफूले कुन मन्त्रालयको जिम्मेवारी पाउने हो भेउ पाउन सकेका छैनन्। बिनाविभागीय मन्त्री भनेर गाडी पाएका छन् , काम परेका बेला त्यसैमा हुइँकिन्छन्। कहिले बानेश्वरस्थित संविधानसभा भवन पुग्छन् त कहिले सिंहदरबारस्थित संसदीय दलको कार्यालय।  

मन्त्री भएकोमा आफन्त, कार्यकर्ता फोन गरेर बधाई दिंदै भेट्न आउँछु भन्छन्। आफ्नै बस्ने ठेगान नभएका बेला आफन्त, कार्यकर्तालाई उनी यहाँ आइज भन्न सक्दैनन् , बरु भन्ने गरेका छन्, 'पछि भेट्न आउनू।' 


नियुक्ति गरेको दुई साता बित्न लाग्दा पनि १२ जना मन्त्रीहरुले मन्त्रालयको जिम्मेवारी पाउन नसक्दा उनीहरु अलमलमा परेका छन्। अलमलमा पर्ने मन्त्री गुरुङ एकला भने होइन। प्रधानमन्त्री बाबुराम भट्टराईकै पार्टी एकिकृत नेकपा माओवादी, नेपाली कांग्रेस र अन्य साना दलका गरी १२ जना मन्त्री जिम्मेवारी नपाउँदा कहाँ बस्ने, के गर्ने भन्ने अन्योलमा छन्। 

'मन्त्री भएको अनुभूति मन्त्रालय गएर मात्र हुने हो, अहिले आफू मन्त्रीजस्तै लागेको छैन,' मन्त्री गुरुङले भने, 'मन्त्री बनाइदिएका छन्, गाडी दिएका छन्। यतिका लागि मात्र मन्त्री बनाउने हो भने ठिक छ, नत्र काम गर्न पाउनुपर्‍यो नि।' 

शीर्ष तहमा क-कसलाई कुन मन्त्रालय दिने भनी छलफल भएको भनेर आफूहरु सुरुका दिन चुप लागेर बसेको उनले बताए। उचित व्यत्तिले उचित मन्त्रालय पाउने आशामा रहेका गुरुङमा अहिले त्यो आशा विस्तारै निराशामा परिणत हुँदैछ। 

'जिम्मेवारी तोकिदिएको भए केही न केही गरिन्थ्यो। अहिले घरमै बसी, संसदीय दलको कार्यालयमा गफगरी दिन बिताउन बाध्य भएको छु। के गर्ने भन्ने अन्योलमा छु,' गुरुङले दुःखेसो पोखे। 

माओवादी नेता तथा बिनाविभागीय मन्त्री पोष्टबहादुर बोगटी किताब पढेर दिन कटाउने गरेको सुनाउँछन्। संविधानका विषयमा हुने छलफलबाहेक उनको अर्को जाने ठाउँ छैन जटिल राष्ट्रिय परिस्थितिका कारण जिम्मेवारी पाउन ढिलाइ भएको बुझाइ उनको छ। उनले आफूलगायत जिम्मेवारी नपाउने केही मन्त्रीलाई 'बेरोजगार' को संज्ञा दिए। 

'यो देशका मन्त्रीहरु १२/१५ दिनसम्म बेरोजगार भएर बस्नुपर्ने स्थिति आउँछ भने जनताको स्थिति के होला भन्ने अनुभूति गर्दैछु,' मन्त्री बोगटीले भने, 'सबै दललाई मिलाउनुपर्ने जटिलताका कारण जिम्मेवारी नपाउनुलाई मैले त्यागका रुपमा पनि लिएको छु।' 

प्रधानमन्त्री कार्यालयस्रोतका अनुसार जिम्मेवारी नपाएका १२ जना मन्त्रीलाई सिंहदरबारस्थित रक्षामन्त्रीको कार्यकक्षमा बस्ने ठाउ बनाईएको छ। १२ दर्जन मन्त्रीको लागि एकजना पिए खटाइएको छ, जसले मन्त्रीहरुलाई चियाको व्यवस्था गर्ने गर्छन्। प्राय बिना बिभागिय मन्त्रीहरु यही आएर बस्ने गरेको स्रोतले बतायो। बिनाविभागिय मन्त्री गुङले भने रक्षा मन्त्रीको कार्यकक्षमा बस्ने ठाउँ बनाइएको बारे आफूलाई जानकारी नभएको बताए। 

गुरुङ र बोगटीका अलावा जिम्मेवारी नपाउने बिना बिभागिय मन्त्रीमा माओवादीका नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, टोपबहादुर रायमाझी, दीनानाथ शर्मा, कांग्रेसका कृष्ण सिटौला, नेकपा संयुक्तका चन्द्रदेव जोशी, राप्रपाका परशुराम खापुङ, नेपाः पार्टीका केशवमान शाक्य र परिवार दलका एकनाथ ढकाल छन्।
-  नागरिक