काठमाण्डौं, ६ जेठ । राजधानीमा दिनहुँ बन्द, हड्ताललगायतका कार्यक्रम हुन थालेपछि जिल्ला प्रशासन कार्यालयले ११ क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । जिल्ला प्रशासनको कार्यालयले राष्ट्रपति कार्यालयको कम्पाउण्डको प्रवेशद्वारको उत्तरदक्षिण ५० मिटरसम्म, उपराष्ट्रपतिको कार्यालयको अगाडीको कम्पाउण्ड क्षेत्र, प्रधानमन्त्री निवास बालुवाटार, भद्रकाली मन्दिरदेखि सिंहदरवार दक्षिण गेटहुँदै हनुमानथानसम्म, संविधानसभा भवनको पश्चिम गेटबाट नयाँ बानेश्वर चोकसम्म निषेधित क्षेत्र क्षेत्र घोषणा गरेको हो ।
त्यसैगरी, माइतीघर मण्डलादेखि पद्मोदय स्कूल मोडसम्म, नयाँ बानेश्वर चोकदेखि होटल एभरेष्ट पश्चिमतर्फ ७५ मिटरसम्म, नयाँ बानेश्वरदेखि अरनिको राजमार्ग हुँदै संविधानसभा भवनको दक्षिण पर्खालको अन्तिम बिन्दुसम्मको दायाँबायाँ दुवै किनारासम्मको क्षेत्र, नयाँ बानेश्वरदेखि शंखमुल जाने सडकतर्फ ५० मिटरसम्मको क्षेत्र, नयाँ बानेश्वर चोकबाट संधिवानसभाको भवनको पश्चिमबाटो हुँदै पश्चिम पर्खालको अन्तिम विन्दुसम्मको सडकको दायाँबायाँको किनारासम्म र संविधानसभा भवनको ३ नम्बर गेटबाट थापा गाउँतर्फ आउने बाटोको अनमोल क्याटरिङ गेटसम्मको क्षेत्रलाई धर्ना, जुलुस र हड्ताल निषेध क्षेत्र घोषणा गरिएको छ ।
यस्तै प्रहरीले सुरक्षा रणनीति पनि नयाँ कायम गरेको छ । बन्दहड्तालका घटनालाई मध्यनजर गर्दै सुरक्षा रणनीतिको तयारी गरिएको हो । महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले संविधान जारी गर्ने अन्तिम मिति जेठ १४ र त्यसपछिको १५ दिनलाई लक्षित गदै सुरक्षा रणनीति ल्याउन लागेको हो ।

















