काठमाडौं, ४ जेठ । राजनीतिको विशेषता नै हो, उतारचढाव । त्यसैले होला, नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको 'राजनीतिमा स्थायी शत्रु र मित्र हुन्न' भन्ने अभिव्यक्तिलाई धेरै नेताले आफ्नो जीवन–व्यवहारमा प्रयोग गरिरहेका छन् ।
पछिल्लो समय यसलाई व्यवहारमा लागू गराउन उद्यत छन्, पूर्वमन्त्री एवं एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य प्रभु साह । माओवादी संरचना अन्तर्गत भोजपुरा राज्य समितिका सह–इञ्चार्ज साह लामो समयदेखि पार्टी उपाध्यक्ष एवं प्रधानमन्त्री बाबुराम भट्टराईका सहयोगी छन् ।
कतिसम्म भने, ०६१ माघमा पार्टीले भट्टराईलाई कारबाही गरेपछि उनले त्यसको विरोध गरेका थिए ।
त्यसपछि भट्टराईलाई सघाएको लगायतका आरोपमा उनलाई समेत कारबाही गरिएको थियो । पार्टीमा तराई–मधेसका अगुवा नेताहरूमध्ये भट्टराई खेमामा साह मात्र थिए । तर, अब उनी भट्टराई खेमा मात्रै होइन, पार्टी नै छोड्ने सुरसार कस्दै छन् । खासमा वीरगन्जका काशी तिवारीको हत्या अभियोग लागेर चौतर्फी विरोध भएपछि भट्टराईले गत ३ कात्तिकमा उनलाई भूमिसुधार तथा व्यवस्था मन्त्रीबाट राजीनामा गर्न लगाएका थिए । त्यो घटना नै साह-भट्टराई दूरी बढाउनमा कारक भइदियो । राजीनामा प्रकरणपछि चिसिँदै गएको उनीहरूको सम्बन्ध केही सातायता उत्कर्षमा पुगेको स्रोतको दाबी छ ।
मधेसी जनअधिकार फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा २० वैशाखमा भएको बृहत् मधेसी मोर्चाको पत्रकार सम्मेलनमा साह उपस्थित थिए । जबकी, मोर्चाको आन्दोलन सरकारविरूद्ध मात्र लक्षित छैन, सरकार ढाल्न र मधेसबाट माओवादीलाई थप बढार्न उद्देश्यकासाथ यादव नेतृत्वको मोर्चा बनेको स्रोतहरूको कथन छ ।
भट्टराईसँगको सम्बन्धमा तीतोपना बढेपछि साह अहिले मधेस केन्द्रित कम्युनिस्ट पार्टी खोल्ने सोचमा पुगेका छन् । लामो समय जुन पार्टीमा बिताए, अहिले त्यही पार्टीविरूद्धको मोर्चाबन्दीमा भएको उनको सामेलीलाई माओवादी नेताहरूले पनि अन्ततः पार्टी छोड्ने रूपमा नै बुझेका छन्।

















