सञ्चारकर्मीहरु सवार सवारी साधनहरुमा जताततै तोडफोड


काठमाण्डौं, ७ जेठ । आदिवासी जनजाति संयुक्त संर्घष समितिले गरेको बन्दले राजधानी लगायत देशभरको जनजीवन प्रभावित भएको छ । बन्दकर्ताले सञ्चार माध्यमलाई पहिलो निशाना बनाएका छन् ।

उनीहरुले समाचार संकलनका लागि गएका सञ्चारकर्मीहरु सवार रहेको सवारी साधनमा तोडफोड भएको छ भने सञ्चारकर्मीहरलाई पनि आदिवासीको समाचार नलेखेको भन्दै दुर्व्यवहार गरेका छन् ।


बिहानैदेखि सडकमा रहेका बन्दकर्ताहरुबाट रिपोर्टिङका लागि जाँदै गरेको नेपाल वान टेलिभिजनको बा १ च १६०० नंवरको गाडीमाथि तोडफोड भएको छ । बन्दकर्ताले गाडीमा सवार पत्रकार कविता अधिकारी र मंगल लामामाथि हातपात गरेका छन् । कर्मचारी लिन गएको एभिन्युज टेलिभिजनको सवारीसाधनमा तोडफोड गरेका छन् भने रिपोटिङका लागि गएको कान्तिपुर टेलिभिजनको बा ९ च ५५३७ नम्बरको सवारी साधनलाई काठमाण्डौंको बौद्धमा तोडफोड गरेका छन् ।

हिमालयन टेलिभिजनबाट रिर्पोटिङका लागि गएका क्यामेरापर्सन वाईपी घिमिरे सवार बा २० प ३८९९ नम्बरको मोटरसाईकलमा पनि आगजनी गरेका छन् ।

त्यस्तैगरि सगरमाथा टेलिभिजन, इमेज च्यानल, कारोबार दैनिकको सवारी साधनमा पनि तोडफोड भएको छ । पत्रिकार पुर्‍याएर फर्कदै गरेको नागरिक न्यूजको सवारी साधनलाई पनि कपिलबस्तुमा तोडफोड गरिएको छ ।

यता आदिवासी जनजाति महासङ्घका अध्यक्ष राजकुमार लेखीले सञ्चारगृहका सवारी साधनमा आफ्ना कार्यकर्ता तथा समर्थकहरुले तोडफोड नगरेको दावी गर्नु भएको छ । आफूहरुको माग र विरोधका कारण अत्तालिएका ठूला दल र सरकारले नै षड्यन्त्र गरेर आफूहरुलाई बदनाम गर्न खोजेको उहाँको भनाइ छ । अध्यक्ष लेखीले सञ्चार गृह, दमकल, एम्बुलेन्स लगायतका अत्यावश्यकीय सवारी साधन सञ्चालनमा अवरोध नगर्न आफ्ना कार्यकर्ताहरुलाई आग्रह गर्नु भएको छ ।

सरकारले भने आदिवासी जनजाति सङ्गठनहरुलाई वार्तामा आउन आग्रह गरेको छ । शान्तिमन्त्री टोपबहादुर रायमाझीले शान्ति मन्त्रालयमा आइतबार बिहान पत्रकार सम्मेलन गरी वार्तामा आउन आग्रह गर्नु भएको हो ।

पहिचानसहितको सङ्घीयता, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, राज्यको सबै अङ्ग र तहमा जनसङ्ख्याको आधारमा समानुपातिक र समावेशी प्रतिनिधित्व तथा आत्मनिर्णयको अधिकार, प्रादेशिक स्वायत्तता र स्वशासन लगाएतको मागगर्दै सङ्घर्ष समिति लगायत बिभिन्न जातीय सङ्गठनहरुले आजदेखि ९ गतेसम्म बन्दको आहृवान गरेका छन् ।