बन्दले गर्दा एसएलसीको रिजल्ट ढिलो आउने


काठमाण्डौं, ७ जेठ । यसपालीको एसएलसी परीक्षाको नतिजा तोकिएको समयमा निकाल्न कठिनाई भएको परीक्षा नियन्त्रणको कार्यालयले जनाएको छ । जेठ १४ नजिकिँदै गर्दा विभिन्न समूहले गरेको बन्द हड्तालका कारण परीक्षार्थीहरुको उत्तरपुस्तिका परीक्षणमै समस्या उत्पन्न भइरहेको कार्यालयले जनाएको छ ।

उत्तरपुस्तिका समयमा नै परीक्षण केन्द्रमा आउन नसकेका कारण नतिजा प्रकाशन गर्न कठिनाई भएको परीक्षा नियन्त्रक डिल्लीराम रिमालले जानकारी दिनुभएको छ ।


यसबर्षको एसएलसी परीक्षामा नियमित र एक्जाम्टेड गरी ५ लाख २८ हजार २ सय ५७ जनाले परीषा दिएका थिए । उनीहरुको उत्तर पुस्तिका परीक्षण गर्नका लागि देशभरमा ५४ परिक्षण केन्द्र तोकिएको छ । उक्त केन्द्र मध्ये पनि थोरै केन्द्रबाट मात्र परीक्षण गरिएका उत्तरपुस्तिका आएको केन्द्रले जनाएको छ ।

असारको पहिलो हप्तामा नतिजा निकाल्ने लक्ष्य राखिए पनि बन्दका कारण लक्ष्य पूरा गर्न नसकिने अवस्था आएको पनि नियन्त्रक रिमालले जानकारी दिनुभयो ।