रुपन्देही, ९ जेठ । आदिवासी जनजाति संयुक्त संघष समिति लगायतका बन्दकर्ताहरुले संचारकर्मीमाथि गरेको लगातारको आक्रमणले असुरक्षित महसुस गरेपछि रुपन्देहीका नियमित पत्रिकाहरु मंगलबार प्रकाशनमा आएनन् ।
रुपन्देहीका संचारमाध्यम संचालक, सम्पादक समूह तथा मिडिया सम्वद्ध संघसस्थाहरुले संचारकर्मीमाथि भएको आक्रमणको विरोधमा आज एक दिनका पत्रिका प्रकाशन गरेका छैनन् । रुपन्देहीका सबै एफएम रेडियो र टेलिभिजनले पनि समाचार बुलेटिन बन्द गरेका छन् ।
संचारमा मोफसलको राजधानी मानिने रुपन्देहीमा १३ वटा एफएम रेडियो, ७ वटा दैनिक पत्रिका र २ वटा सामुदायिक टेलिभिजन छन् ।
बन्दकर्ताहरुले समाचार संकलनमा हिडेका पत्रकारमाथि दुर्व्यवहार गर्न र सवारीका साधन तोडफोड गरिदिने गरेपछि यस्तो निर्णय लिएको सम्पादक समूहले जनाएको छ । सोमबार यहाका तीन पत्रकार र उनीहरुको सवारी तोडफोड भएको थियो ।

















