काठमाडौं, ९ जेठ । पिनाकल पब्लिकेसनद्वारा प्रकाशित स्नातकोत्तर शिक्षा शास्त्र संकायको पुस्तक कीर्तिपुरस्थित दीक्षान्त पुस्तक भण्डारका सञ्चालक महेश शर्माले फोटो कपी गरी बिक्री गर्दै गरेको अवस्थामा पक्राउ परेका छन् ।
त्रिभुवन विश्वविद्यालयका प्राध्यापन गर्ने डा चित्रबहादुर बुढाथोकी र विष्णुप्रसाद वाग्लेद्वारा लिखित एमएड प्रथम वर्षको "सामुदायिक स्वास्थ्य तथा सङ्गठन" नामक पुस्तकको सम्पूर्ण किताबको फोटोकपी गरी २२५ रुपौयाँमा विक्री वितरण गरी फाइदा उठाइरहेको अवस्थामा फेला परेका हुन ।
छड्के जाँचका क्रममा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घका प्रतिनिधि तथा पिनाकल पब्लिकेसन प्रालिका प्रतिनिधिले फोटो कपी गर्दै गरेको अवस्थामा फेला पारेपछि महानगरीय प्रहरी प्रभाग कीर्तिपुरले बरामत गरेको थियो । पुस्तकको अनाधिकार प्रतिलिपि बनाइ बजारमा विक्री गरी प्रतिलिपि अधिकार ऐन २०५९ को परिभाषित अपराध गरेकोले महेश शर्मालाई पक्राउ गरी ऐन बमोजिम कारवाही गर्न पुस्तकका लेखक डा चित्रबहादुर बुढाथोकीले महानगरीय प्रहरी परिसर हनुमानढोकामा जाहेरी दरखास्त दिएका छन् ।
उक्त घटनापछि नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घको आकस्मिक बैठक बसी महेश शर्मालाई साधारण सदस्य नरहने गरी महासङ्घबाट निलम्बन गरिएको छ ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ उपत्यका अनुगमन समितिका संयोजक प्रविण निरौला र काठमाडौं जिल्ला कमिटीका सचिव पुष्पराज पौडेलले अनाधिकृत पाठ्यपुस्तक विक्री वितरण गर्ने तथा बौद्धिक चोरीमा संलग्न हुनेलाई कानुनी कारवाही गर्नुपर्ने महासङ्घको माग रहेको बताएका छन् ।
उक्त पुस्तक गत बैशाख महिनामा मात्र प्रकाशित भएको थियो, जसको मूल्य ४५० रुपैयाँ रहेको छ ।

















