अब आन्दोलन चर्काउनु पर्छ : संघर्ष समिति, बेल्जियम


नेपाली संयुक्त संघर्ष समिति, बेल्जियमले प्रमुख दलहरुको सहमति पछाडि पारिएकाहरुको पक्षमा नरहेकोले आन्दोलनमा होमिनुपर्ने कुरामा जोड़ दिएको छ  । समितिका संयोजक मेख गुरुङद्वारा जारी गरिएको विज्ञप्तिमा जनजाति महासंघको आन्दोलनमाथि गरिएको दमनलाई बर्बराताको संज्ञा दिदै ज्यादै दुखलाग्दो र असहनीय भएकोले बाबुराम सरकारको घोर भ्रर्त्सना गरिएको छ । राज्यपुनर्संरचना र शक्ति बाँडफाड समितिले पेश गरेको १४ क्षेत्रीय तथा जातीय स्वायत्त प्रदेशको वैज्ञानिक राज्यपुनर्संरचनासहितको संविधान निर्माणको पक्षमा हुने जुनसुकै प्रकारको संघर्षमा समेत समितिको ऐक्यबद्धता रहने कुरा विज्ञप्तिमा उल्लेख गरिएको छ ।


प्रेस विज्ञप्तिको पूर्ण पाठ :

नेपालको मुख्य राजनीतिक दलहरुले शोषित पीडित र उत्पीडित नेपाली जनताको इच्छा,आकांक्षा र आवश्यकतालाई लत्याएर भारतीय विस्तारवादको ईशारामा अन्ततः सीमा र नामाङ्कन विनाको ११ प्रदेश रहने संघीयताको संविधान वन्ने घोषणा गरेका छन् । यो अवैज्ञानिक तथा जनतालाइ गुमराहमा फसाउने खालको प्रतिगामी संविधान विशेषगरी आम शोषित पीडित नेपालीहरु लगायत हजारौं वर्ष देखि हिन्दु वर्णाश्रम धर्मबाट पीडित दलित, महिला र उत्पीडित आदीवासी जनजातिहरुको पक्षमा छैन । लगभग पाँच सय वर्षदेखि आफ्नै कविला गणराज्य र त्यो भन्दा पनि उच्च विकसित गणराज्यहरु उच्च अहंकारवादी व्राह्मणवादी सामन्ती राज्यसत्ताबाट कपटपूर्ण ढंगले खोसिएपछि आफ्नै आदिम भूमिमा आफ्नो भाषा, संस्कृति र धर्मलाई तिलान्जली दिन वाध्य पारिएका उत्पीडित आदिवासी जनजाइहरुलाई हरेक क्षेत्रमा शासक जाति बराबर नआउन्जेलसम्म निश्चित अवधिको लागि जातीय स्वायत्त शासन दिने भन्ने जुन वैज्ञानिक विधि थियो त्यसको विपरित फेरि २०४७ को प्रतिगामी संविधानतर्फ फर्काउने खालको संविधान संविधानसभामा रहेका प्रमुख राजनीतिक दलहरु एनेकपा माओवादी, एमाले र कांग्रेसको मिलोमतोमा बन्न लागेको छ । त्यसको विरुद्ध आदिवासी जनजाति महासंघ लगायत विभिन्न संगठनले जारी गरिरहेको शान्तिपूर्ण आन्दोलनमा सहभागी आम शोषित पिडीत नेपाली जनता तथा उत्पीडित आदिवासी जनजाति लगायत शेर्पा स्वायत्त प्रदेशका पक्षधर महिला नेतृ तथा माओवादी सभासद आङदावा शेर्पा आफ्नै पार्टीका  उपाध्यक्ष बाबुराम भट्टराइ सरकारको बर्बर हिंसात्मक दमनको शिकार भएर उपचारका क्रममा अस्पतालमा दाखिला हुनु हामी सबै शोषित पीडित नेपाली लगायत उत्पीडित आदिवासी जनजातिहरुको लागि ज्यादै दुखलाग्दो र असहनीय हो । बेल्जियममा संगठित नेपाली संघर्ष समिति उक्त दमनको घोर भ्रर्त्सना गर्दै सभासद आङ्गदावा शेर्पा लगायत आन्दोलनमा घाइते हुनु भएकाहरु सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उहाँहरुको संघर्षमा ऐक्यवद्धता रहेको जाहेर गर्दछ । साथै संविधानसभाको राज्यपुनर्संरचना र शक्ति बाँडफाड समितीले पेश गरेको १४ क्षेत्रीय तथा जातीय स्वायत्त प्रदेशको वैज्ञानिक राज्यपुनर्संरचना सहितको संविधान निर्माणको पक्षमा हुने जुनसुकै प्रकारको संघर्षमा समेत हाम्रो एक्यवद्धता रहनेछ ।


संयोजक :
मेख गुरुङ
नेपाली संयुक्त संघर्ष समिति, बेल्जियम ।
मिति : १६ मे २०१२