प्रदिप चापागाई, सिड्नी, १२ जेठ । अष्ट्रेलियाको प्रमुख व्यापारिक शहर सिड्नीमा केन्द्रित रहेर नयाँ नेपाली म्यागजिन प्लस नाईन डबल सेवेनको प्रकाशन सुरु भएको छ । अष्ट्रेलियामा रहेका नेपाली युवा वर्गलाई लक्षित गरेर प्लस नाईन डबल सेवेन प्रालिले म्यागजिन प्रकाशनमा ल्याएको हो ।
सिड्नीको लिभरपुल स्ट्रीट स्थित भि बारमा बिहिबार साँझ नेपाली युवा तथा समुदायका अन्य अग्रजहरुको उपस्थितिमा म्यागजिन सार्वजनिक गरिएको हो ।
सिड्नीमै रहेर चाटर्ड एकाउन्टेन्सी पढ्दै गरिरहेका कुशल केसी उक्त म्यागजिनको प्रकाशक तथा फाउन्डर हुन् भने सोही विषय अध्ययन गरिरहेका इर्शाद अहमद म्यानेजर तथा कोफाउन्डर हुन् ।अष्ट्रेलियामा पनि नेपाली युवावर्गले गरेका कामहरुलाई प्रकाशमा ल्याउनु र प्रोत्साहन गर्नु म्यागजिनको प्रमुख उद्देश्य रहेको कुशलले बताए । अष्ट्रेलियामा हाल केही समाचारपत्र प्रकाशनमा रहे पनि युवावर्गमा केन्द्रित रहेर केही नेपाली साथीहरुको सहयोगमा प्रकाशन थालेको कुरा केसीले जानकारी दिए ।
मासिक रुपमा प्रकाशन हुने उक्त म्यागजिनले विदेशमा रहेका नेपालीको अवस्थाबारे सुसुचित गराउनुका अलावा नेपालमै रहेर पनि केही गरौं भन्ने अभिप्राय बोकेका युवाहरुलाई प्रोत्साहन गर्नु पनि आफ्नो लक्ष्य भएको कुशलले सुनाए ।
जहाँ रहे पनि नेपालीहरुका विभिन्न कामहरुको सम्मानित प्रचार गराउने काम म्यागजिनले गर्नेछ । यसका साथै विविध लेखहरु, अन्तरवार्ता, स्तम्भ, खेलकुद, स्वास्थ्य, मनोरञ्जनका अतिरिक्त अन्य रोचक सामग्रीहरु पनि समेट्ने कुरा कुशलले बताए ।
हाल म्यागजिनको लक्षित वर्ग अष्ट्रेलियामा रहेको नेपाली समुदाय भए पनि भविष्यमा यसलाई अमेरिका, यूरोप र खाडी मुलुकहरुमा समेत पुर्याउने लक्ष्य म्यागजिनले लिएको छ ।

















