मुस्ताङको कागबेनीमा पहिरोले पुरिएर मृत्यु हुनेको संख्या ४ पुग्यो


अगन्धर तिवारी, मुस्ताङ, ४ जेठ । मुस्ताङको कागबेनी गाविसमा सडक खन्ने क्रममा माथिबाट पहिरो आई हिजो बुधबार डोजर पुरिँदा मृत्यु हुनेहरुको संख्या चार पुगेको छ । कालीगण्डकी करिडोर अन्तर्गत कागबेनी झैते सडक खन्ने क्रममा हिजो साँझ एलएनटी डोजर पुँरिदा दुई चालकसहित चार जनाको मृत्यु भएको हो ।

मुस्ताङको छुसाङ गाविस –७, चैलेको जोगीमोरा भिरमा पुरिएको डोजरभित्र रहेका ४ जनाको शव आज बिहान ६ बजे निकालिएको हो । हिजो साँझ पुरिएको डोजरका चालक सिन्धुपाल्चोक मेलम्चीका २८ वर्षिय रोहित भनिने झलक माझीको हिजै साँझ शव निकालिएको थियो ।

डोजरसँगै पुरिएका अर्का डोजर चालक सिन्धुपाल्चोक बाँसबारी २  मेलम्चीका २९ वर्षीय ध्रुव माझी, सहचालक पृथ्वीनारायण नगरपालिका–८ गोर्खाका २३ वर्षीय गोर्खे भनिने जितबहादुर राना, ट्याक्टर चालक राजपुर–६ दाङका २६ वर्षीय सुनिलकुमार चौधरीको शव आज बिहान भेटिएको घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय
मुस्ताङका प्रहरी निरिक्षक राजेन्द्र पोखेलले जानकारी दिए ।

पहिले डोजर चालकको मात्र शव भेटिएकोमा माटो र ढुङ्गाले पुरिएको डोजर निकाल्ने क्रममा अन्य तीन शव भेटिएको प्रहरी निरिक्षक पोखरेलले बताए ।

ठूलो हावा हुरी आएकाले सबैजना डोजर भित्र बसेको र उक्त समयमा माथिबाट ठुलो माटो, ढुङ्गाको ढिस्को खसी डोजर पुरिएको शंका गरिएको निरिक्षक पोखरेलले बताए ।

सबैको घटनास्थलमै मृत्यु भएको मुस्ताङ टाईगर कन्ट्रक्सनका सञ्चालक ङुटुक गुरुङले बताए । ढुङ्गा माटो समेत उडाउने गरि हावाहुरी चलेपछि उनीहरु एउटै डोजरभित्र बसेका समयमा पहिरो खसेको अनुमान गरिएको छ ।

स्थानीय बासिन्दा, मजदुर, नेपाल प्रहरी, सशस्त्र प्रशरीले हिजो बेलुकाबाट उद्धार कार्य थालेका थिए । डोजरसँगै पुरिएकाहरुको शव अर्को डोजर, स्थानीयबासी र मजदुरहरुले माटो पन्छाएर निकालेका छन् । पहिरोले पुरिएर डोजर पनि पूर्ण रुपमा क्षति भएको छ । ग्रामीण पुन निर्माण तथा पुनस्थापना आयोजना अन्तर्गत लामा कन्स्ट्रक्शन  काठमाडौले २०६७ सालदेखि सो सडक निमार्ण गरिरहेको छ ।