थाइल्याण्डका निमित्त राजदूत डोरनाथको हर्कत


बैकक । राजदूत भनेको देशको प्रतिनिधित्व गर्ने अधिकार प्राप्त व्यक्ति हो । जुनसुकै मुलुकमा त्यहाँस्थित दूतावासले आफ्नो देशका जनतालाई परेको अप्ठ्यारोमा सहयोगी भूमिका खेल्ने, देश र जनताको हितमा कामकाज गर्नु पर्ने हुन्छ । तर, थाइल्यान्डस्थित नेपाली राजदूतावासका निमित्त राजदूत डोरनाथ अर्याल भने आफ्नो पदीय हैसियत समेत बिर्सेर 'यौनलिला'मा व्यस्त रहने गरेको बुझिएको छ । 

पूराना राजदूत सेवाअवधि पूरा भइ फिर्ता भइसकेको र नयाँ राजदूतको नियुक्ति प्रक्रिया चलिरहेको अवस्थामा रिक्त राजदूत पदको परराष्ट्र मन्त्रालयका आलाकाचा उपसचिव काउन्सीलरका रुपमा नेपाली दूतावास थाइल्याण्डमा खटिएका डोरनाथ अर्यालले सिंगो दूतावास र त्यहाँ कार्यरत कर्मचारीलाई आफ्नो स्वार्थअनुसार डोर्याइरहेका छन् । उनले बैंककस्थित नेपाली भाषी बर्मेली युवतीलाई आफ्नो यौनप्यास मेट्ने साधन बनाएको समेत स्रोतले जानकारी दिएको छ । 


नेपाली कामदारका व्यवहारबाट खुसी भएका थाइ उद्योगी/व्यवसायीले नेपालबाट कामदार झिकाउन गरेको प्रयास समेत निमित्त राजदूत अर्यालले असफल गराइदिएका छन् । 'यो बुझ्ने र त्यो बुझ्ने' बहानामा थाइ सरकारले २०१२ मा नेपाललाई पनि दिन खोजेको एक लाख बराबरको कामदार कोटा अर्यालकै लापरवाहीले 'ल्याप्स' हुन पुगेको छ । स्रोतका अनुसार नेपाललाई थाई सरकारले दिन खोजेको एक लाख बराबरको कोटा रद्द गराए वापत बर्मेली र बंगलादेशी मेनपावर दलालहरुबाट निमित्त राजदूत अर्यालले मोटो कमिशन बुझेका छन् । थाई सरकारले नेपाललाई पनि कामदार कोटा दिन चाहेपछि र त्यहाँका लेवर डीपार्टमेन्टका डीजीले प्रक्रिया अघि बढाइरहँदा नेपाली दूतावासले नै कोटा प्राप्त गर्न लापरवाही देखाएको हो । 

थाइल्याण्डका विभिन्न ठाउँमा कृषी तथा उद्योगका लागि नेपाली कामदारको पनि माग गर्न खोजिएपछि त्यो प्रक्रियामा आलटाल गरिदिन बर्मेली र बंगलादेशी मेनपावर दलालले नेपाली दूतावासका अर्याल र अर्का एक कर्मचारीलाई पनि प्रभावमा पारेर उनीहरुकै इशारामा श्रम सम्झौता गर्ने प्रक्रियालाई नै अर्यालले अल्मलाइ दिने गरेको खुल्न आएको छ । 

केही नेपाली मेनपावर व्यवसायीले थाइल्याण्डको भ्रमण गरी त्यहाँको वस्तुस्थिति बुझेर नेपाली कामदार थाइल्याण्ड पठाउने सन्दर्भमा पहल गरिदिन वैदेशिक रोजगार व्यवसायी संघ मार्फत फागुन १७ गते श्रम तथा यातायात मन्त्रीलाई आवश्यक पहल गरिदिन निवेदन दिएको र उक्त निवेदन परराष्ट्र मन्त्रालय हुँदै नेपाली दूतावास थाइल्याण्ड प्रेषित गरिएको थियो । पत्रमा कुटनैतिक माध्यमद्वारा वैदेशिक रोजगारमा पठाउने व्यवस्था मिलाउन पहल गर्न निर्देशन दिइएको थियो । तर, उक्त पत्रको आशयअनुसार काम गर्नु भन्दा पनि विदेशी मेनपावर कम्पनीका दलालसँग मिलोमतो गरेका निमित्त राजदूत डोरनाथ अर्यालले दुई महिना पुग्दा समेत पत्रको जवाफ लेख्ने काम गरेका छैनन् । 

उनीसँग फोनमा सम्पर्क गर्दा एक महिनाअघि देखिनै 'डीपमेल'मा पठाइसकेको मात्रै बताएर उम्कने गर्दै आएका छन् ।