चूरोटको खोलमा नियुक्ति पाएकाको फूर्ति


काठमाडौं, ३ जेठ । पञ्चायतकालमा मन्त्री हरीबहादुर बस्नेतको कृपाले रेडियो नेपालबाट विद्युत प्राधिकरणमा प्रवेश गरेका प्रसासन प्रमुख लोकेन्द्र थापाको नियुक्ति पत्र केलाउने हो भने उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कारबाहीमा पर्ने निश्चित छ । थापालाई चूरोटको खोलमा नियुक्ति दिलाउने तिनै बस्नेत हुन भने आज थापाले आफूले पाएको नियुक्ति शैलीलाई प्राधिकरणमा लागू गर्न सफल भएका छन् । 

थापालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त ज्वाँई जस्तै गरी सम्मान गर्दै आएको छ । थापाको अख्तियारमा दर्जनौं मुद्दा छन् भने यतिखेर उनी माओवादी बनेर पोष्टबहादुर बोगटीलाई पोषण गरिरहेको प्राधिकरणमा चर्चा छ । आफ्नै घरमा काम गर्ने चिजा थापा मगरलाई थापाले म्यादी कर्मचारीका रुपमा प्राधिकरणमा राख्न सफल भएका छन् ।
चिजालाई २०६३ देखि प्राधिकरणमा म्यादी कर्मचारीका रुपमा नियुक्त गरिएपनि थापाले २०६१ देखि २०६३ सम्म हाजिर गराएर अख्तियारको दुरुपयोग गरी भ्रष्टाचार गरेका छन् । शुरुमा चिजालाई मध्य मर्स्याङ्दी जलविद्युत केन्द्रमा थापाले नियुक्ति दिलाएका थिए ।

अहिले चिजालाई स्थायी गर्न थापा लागिपरेपछि श्रीमती र उनीबीचको सम्बन्धमा दरार उत्पन्न भएको प्राधिकरणमा चर्चा छ । त्यसो त केही समयअघि अख्तियारले सम्पत्ति छानविन गर्ने जानकारी पाएपछि थापाले ड्राइभर इन्द्रकुमार श्रेष्ठको नाममा मण्डीखाटारमा रहेको जग्गा नामसारी गरेका थिए । प्राधिकरणको कानुन विभागमा रहँदा ब्रम्हलुट मच्चाएका गोविन्दराज खरेललाई भ्रष्टाचारबाट जोगाईदिन्छु भन्दै थापाले लाखौं कमिशन लिएको स्रोतको दावी छ । 

त्यस्तै केन्द्रीय वर्कसप हेटौडामा रहेका राष्ट्रभूषण प्रधानलाई थमौति दिने नाममा थापाले विसीलाई बुझाउनुपर्छ भन्दै १० लाख रुपैयाँ कमिशन लिएको चर्चा छ। विसी र थापाको मिलेमतोमा उक्त वर्कसपमा हालै मात्र १५ जना कर्मचारीलाई ज्यालादारीका रुपमा भर्ना गरिएको छ। जवकि प्राधिकरणको वोर्डले ज्यालादारीमा कर्मचारी भर्ना नगर्न निर्देशन समेत दिइसकेको थियो।