पत्रकार र जनजाति महासंघबीच तिक्तता बढ्यो


काठमाडौं, ७ जेठ । हाम्रो देशमा जहाँ पनि राजनीति, जहाँ पनि काखापाखा, आफ्नो बिरानो । जहाँ आफ्नो पहुँच छ आफ्नो पारा देखाउनैपर्ने ।

यस्तै समाजका हरेक गतिविधिलाई नजिकबाट नियाल्ने र कसैलाई काखापाखा नगरी अझ गरिब, शोषितपीडित र दबाइएका वर्गको आवाज बोल्ने पत्रकारहरु पक्षपाती पक्कै नहुनुपर्ने हो ।

तर नेपाल आदिवासी जनजाति महासंघका महासचिव आङकाजी शेर्पाले नेपाल पत्रकार महासंघलाई पक्षपाती भएको आरोप लगाएका  छन् । शेर्पाले पत्रकार महासंघलाई ‘ब्राम्हण पत्रकार महासंघ’ भन्दै र्‍याली निकाले प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।

`अखण्ड सुदूरपश्चिमको आन्दोलनबारे नबोल्ने पत्रकारले हाम्रो आन्दोलनको विरोध गर्दै छन् ।´ रिपोटर्स क्लबमा शनिबार आयोजित पत्रकार सम्मेलनमा शेर्पाले भने -`जनताले दुःख पाए भनेर ब्राम्हण पत्रकार महासंघले र्‍याली निकाल्दैछ रे, हिजो अखण्ड सुदूरपश्चिममा नबोल्ने पत्रकार महासंघले र्‍याली निकाले बाँकी राखिने छैन ।’

शेर्पाको चेतावनीपछि कार्यक्रममा सहभागी पत्रकारहरुसँग केहीबेर भनाभन समेत भएको थियो । पत्रकारहरुले शेर्पाको समाचार बहिस्कार गर्ने बताएका थिए । त्यस क्रममा प्रहरी आएर छुट्याउनु परेको थियो ।

पत्रकार महासंघ लगायत देशभरका विभिन्न सञ्चार माध्यमहरुले जनजातिको आन्दोलनमा सञ्चार माध्यमहरु निशाना बनाइएको भन्दै विरोध जनाएका छन् । 

यसरी पत्रकार र जनजातिबीच मतभेद बढ्न थालेपछि जनजाति आन्दोलनका सहभागीहरुले केही सञ्चारमाध्यमहरुको विरुद्धमा नाराबाजी पनि गरेका छन् । 

जनजाती संयुक्त संघर्ष समितिका सचिवालय संयोजक पर्शुराम तामाङले सरकारी बार्ता टोलीसँग वार्ता नगर्ने बताएका छन् ।

तामाङले प्रमुख दलका शीर्षनेता र प्रधानमन्त्री सहभागी वार्तामा मात्र बस्ने बताएका हुन् । तामाङले पत्रकारमाथि आक्रमण गर्ने आफूहरुको नीति नभएको आन्दोलनको क्रममा पत्रकारमाथि भएको आक्रमणको लागी क्षमा मागे । आन्दोलनमा मण्डलेहरुको घुसपैठ भएको आशंका ब्यक्त गर्दै उहाँले आक्रमण रोक्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।