एमाले जनजातिको पक्षमा नलागेको भन्दै पासाङले पार्टी छाडे


काठमाडौ, १७ जेठ । एमालेका निवर्तमान सभासद् पासाङ शेर्पाले बुधबार एमालेको सम्पूर्ण पदबाट राजीनामा दिएका छन् । 

एमाले नेताहरूले आदिवासी जनजातिको पक्षमा नलागेको भन्दै उनले संविधानसभा विघटनलगत्तै राजीनामा दिने बताउँदै आएका उनले आज बुधबार मेची अञ्चल सम्पर्क कमिटीमार्फत राजीनामा पत्र बुझाएका हुन् । शेर्पा एमाले कोटामा मन्त्रिपरिषद्‍द्वारा मनोनित सभासद् हुन् । 
उनी एमाले विदेश विभाग सदस्य एवं लोकतान्त्रिक आदिवासी जनजाति महासंघका महासचिव थिए । शेर्पा नेपाल आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष हुन् भने संविधानसभामा आदिवासी जनजाति सभासद् सभा (ककस) गठनका लागी लागिपर्ने प्रमुख व्यक्ति पनि हुन् । 

उनले संविधानसभा विघटन हुनुमा आफ्नै पार्टीमा प्रमुख दोषी रहेकोसमेत आरोप लगाएका छन् । शेर्पाले एमाले पार्टी छाडे पनि नयाँ पार्टी भने गठन नगर्ने बताए । आदिवासी जनजातिहरु एक हुनुपर्ने भएकोले राष्ट्रिय खालको मोर्चा निर्माण गर्न आवश्यक रहेको उनले औँल्याए ।