काठमाडौ, १८ जेठ । प्रधानमन्त्री डा. बाबुराम भट्टराई छोरी पुत्री मानुषीलाई फोनबाट प्रेमको प्रस्ताव गरेर सताउने गरेका एक युवक प्रहरीको फन्दामा परेका छन् । आफुलाई वारम्वार फोन गरेर सताउने गरेको भन्दै मानुषीले दिएको मौखिक उजुरीको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौले १२ दिन अघि पक्राउ गरी हिरासतमा राखेको हो ।
त्रिभुवन विश्व विद्ययालयमा अध्ययन गर्ने पाल्पाका अर्जुनप्रसाद न्यौपानेले फोनबाट मानुषीलाई बारम्बार प्रेम प्रस्ताव राखेका थिए । हैरान भएर मानुषीले प्रहरीलाई मौखिक उजुरी समेत दिएकी थिईन् ।
चिन्दै नचिनेको मान्छेले टेलिफोनबाट प्रस्ताव राख्दा पहिले केही दिन वास्ता नदिएको र सम्झाई वुझाइ गरी आफुलाई नसताउन आग्रह गर्दा पनि बारम्बार फोन गरेर प्रेम प्रस्ताव राखे पछि बाध्य भएर प्रहरी गुहारेकी मानुषीले वताएकी छिन् ।महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले न्यौपानेलाई पक्राउ गरी सार्वजनिक मुद्धा अन्तर्गत कारबाही चलाएको छ । उनलाई थप अनुसन्धान गर्ने भन्दै प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट दुई पटक म्याद थप गरिसकेको छ । प्रहरीले दिएको जानकारी अनुसार मानुषीको मौखिक उजुरी र उनकी साथी अञ्जनाको लिखित उजुरीका आधारमा न्यौपानेलाई पक्राउ गरिएको हो । - ऐक्यबद्धता


















