‘बन्दको राजनीति बन्द गरौं’ भन्दै काठमाण्डौमा सद्‌भाव सभा


काठमाण्डौ, १० जेठ । निरन्तरको बन्द र हड्तालको बिरोधमा बुधबार राजधानीमा राष्ट्रिय झण्डासहित हजारौ मानिस भेला भएर बृहत सद्भाव सभा आयोजना गरिएको छ ।

नेपाल उद्योग बाणिज्य महासंघको आहृवानमा बुधबार साँझ काठमाडौंको दरबारमार्गमा भएको सद्भाव सभामा सहभागीहरुदले सेतो टिसर्ट तथा सर्ट लगाएका थिए भने हातमा राष्ट्रिय झण्डा बोकेका थिए । उनीहरुले ‘सद्भाव कायम गरौं, ‘नेपालीको चहना शान्ति स्थापना’, ‘बन्द हडताल संधैका लागि बन्द गरौं’ लगायत नारा लगाएका थिए ।


सद्भाव सभालाई सम्वोधन गर्दै उद्योग बाणिज्य महासंघका कार्यवाहक अध्यक्ष भास्करराज राजकणिर्कारले आफूहरु कसैको विरोधमा नभई सम्बृद्धिको पक्षमा भएको बताउनु भयो । हातमा राष्ट्रिय झण्डा लिएर सभालाई सम्वोधन गरेका कणिर्कारले आफूहरु ‘सबैभन्दा पहिले हामी नेपाली हौं भन्दै हामी गरीब हैन धनी बन्न चाहन्छौं, बन्दको राजनीति सधैका लागि बन्द गरौं’ भन्दा सहभागीहरुले हो भन्दै हुटिङ गरेका थिए । सद्भाव सभापछि दीप प्रज्वलन समेत गरिएको थियो ।

सद्भाव सभामा नागरिक समाजका अगुवा, पेशाकर्मी, युवा लगायत गरि झण्डै १० हजारको सहभागिता रहेको थियो । यसअघि सद्भाव सभा बसन्तपुरमा गर्ने भनिएपनि अन्तिम समयमा आएर नेवाः खलले त्यहाँ कार्यक्रम गर्ने भन्दै र्‍याली अन्तै सार्न दबाब दिएको थियो । त्यसपछि सद्भाव र्‍यालीका आयोजकले खुलामञ्च चयन गरेका थिए ।

तर, सरकारसँगको वार्तामा एकल पहिचानसहितको राज्य पाउने सहमति भएपछि आदिवासि जनजाति महासंघले खुलामञ्चमै बिजय सभाको आयोजना गर्ने तयारी गर्‍यो । जसका कारण उद्योग बाणिज्य महासंघले र्‍याली दरबारमार्गमा सार्ने निर्णय गरेको हो । महासंघ कार्यसमितिको बुधबार अपरान्ह वसेको वैठकले र्‍याली दरबारमार्गमा सार्ने निर्णय गरेको उपाध्यक्ष प्रदीपजंग पाण्डेले जानकारी दिनुभयो ।

माओवादीनिकट केही संचारमाध्यमहरुले सेतो टिसर्ट सभा प्रतिकार सभा भएको र जनजातिको बिरोधमा निकाल्न लागिएको भन्दै प्रचार गरेपनि सभामा जनजाति र मधेसी अनुहारको उल्लेख्य उपस्थिति थियो । - अनलाइनखबर