काठमाण्डौ, ११ जेठ । जातीय पहिचानको राज्यको पक्षमा रहेका एमाले सभासदहरुले पार्टी उत्पीडित वर्गविरुद्ध उभिएको निष्कर्ष निकाल्दै छुट्टै भेला गरिरहेका छन् ।
बुधबार नयाँ बानेश्वरको एक रेष्टुरेन्टमा भेला भएका जनजाति सभासद्हरुले पार्टीको कारवाही भोग्नु परे पनि तयार रहने भन्दै जातीय राज्यका पक्षमा प्रतिबद्धता जनाएका छन् ।
पार्टी अनुशासन आयोगले पहिचानसहितको राज्यका पक्षमा नजान निर्देशन दिए पनि उनीहरुले त्यसलाई अवज्ञा गर्दै ध्रुवीकरणमा जाने निष्कर्ष निकालेका छन् ।
एकल पहिचानका आधारमा राज्य चाहिन्छ भन्दै हस्ताक्षर गरेका यीनै सभासद्लाई पार्टी नेतृत्वले ‘पार्टी निर्णय मान्छौं’ भनी हस्ताक्षर गराउने प्रयास गरेको भए पनि भेलाले त्यसलाई असफल बनाएको छ ।भेलामा एमालेका ४५ सभासद र १४ केन्द्रीय सदस्यको सहभागीता रहेको थियो । एमालेका १ सय ६ सभासद् छन् । पार्टी नेतृत्वले पार्टी निर्णय मान्छौं भन्दै हस्ताक्षर गराउने तयारी थालेपछि उनीहरु भेला भएर त्यसलाई अस्वीकार गर्ने निर्णय गरेका हुन् । भेलामा उपाध्यक्ष अशोक राईले पहिचानको मुद्दा नछाड्न सभासद्लाई निर्देशन दिएका थिए । राईले यसअघि स्थायी समिति वैठकमा तीसजना सभासदसहित सामुहिक राजीनामा दिने चेतावनी दिइसकेका छन् ।
एमालेले भने माओवादीले पार्टीका सभासद् चोरेर बहुमतीय आधारमा संबिधान जारी गर्ने षडयन्त्र गरेको आरोप लगाएको छ । - नागरिक दैनिक

















