काठमाडौं, १४ जेठ । संविधानसभाको बैठक सुरु गर्न माग गर्दै सभासदहरुले संविधानसभा भवन परिषद्मा नाराबाजी गरेका छन् । प्रमुख दलहरुबीच छलफल जारी रहेकाले विहान ११ बजेका लागि बोलाएको बैठक अझै सुरु हुन नसकेपछि सभासदहरुले संविधानसभा भवन परिषद्मा बैठक सुरु गर्न माग गर्दै नारावाजी गरेका हुन् ।
आदिवासी जनाजाति, मधेसी लगायतका सभासदहरुले नाराबाजी गर्दै संविधानसभा भवन परिक्रमा गरेका छन् । सभासदहरुले शीर्ष नेताहरुको बैठक संविधानसभा परिषद्मा नै राख्न माग गरेका छन् ।
नाराबाजीपछि आयोजित कोणसभामा माओवादी सभासद तिलक परियारले आफूहरु अमुख नेताका भेडाबाख्रा नभएको भन्दै तत्काल संविधानसभा बैठक सुरु गर्न माग गर्नुभयो । ‘सभासदहरु भेडाबाख्रा होइनन्, जनताका प्रतिनिधि हुन्’ उहाँले भन्नुभयो-’११ वटा विषयगत समितिको प्रतितवेदनका आधारमा संविधानसभामा मतदान गरी दुई तिहाईबाट संविधान घोषणा गरियोस् ।’
अर्का सभासद इन्द्रजीत राईले राति ११ बजे सहमति गर्ने र आफूहरुलाई अध्ययन गर्न समेत नदिएर पारित गर्ने षड्यन्त्र भइरहेको भन्दै खबरदारी गर्नु भयो ।

















