काठमाण्डौं, १३ जेठ । शान्ति र संबिधानका लागि भन्दै सगरमाथा आरोहणमा गएको प्रचण्ड पुत्रसहितको माओवादी टोलीले सफल आरोहण गरेको छ । आज बिहान ८ बजे टोलीका अन्य सदस्यसँगै दाहालले सर्वोच्च शिखर चुमेको आधार सिविरमा रहेका पर्यटन मन्त्रालयका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताए ।
लुम्बिनी- सगरमाथा शान्ति अभियान अन्तर्गतको १० सदस्यीय टोली मध्ये ८ जनाले सगरमाथाको शिखरमा पुगेर नेपालको र माओवादीको झण्डा गाडेको पर्यटन व्यवसायी आङछिरीङ शेर्पाले जानकारी दिए । प्रकाशसँगै केन्द्रीय सदस्य कृष्ण केसी, विना मगर, शिव डाँगी, शिवराज पोखरेल, शरद पोखरेल, महेश्वर फुयाँल र मदन चुडालले सफल आरोहण गरेका हुन् ।
शुक्रबार बेलुका ७ हजार ९ सय मिटर उचाइको साउथकोल (अन्तिम शिविर) बाट हिडेको प्रकाशको टोली शनिबार बिहान ८ बजे शिखर पुगेको हो । लुम्बिनी सगरमाथा एभरेस्ट एक्सपेडिसन २०१२ आरोहण दलबाट सगरमाथा गएका समूहका दुई जनाले आरोहण गर्न नसकेर फिर्ता भएका छन् ।
सरकारले उनीहरुको आरोहणका लागि २ करोड दिने मन्त्रिपरिषद्बाट नै निर्णय गरेको थियो। चौतर्फी आलोचनापछि उनीहरुले सरकारले दिने भनेको रकम नलिने घोषणा गरेका थिए।

















