किभ, जेठ १३ (एजेन्सी) । रुसी भाषालाई देशको आधिकारिक भाषा बनाउने विधेयकसम्बन्धमा युक्रेनको संसदमा बहस हुँदै गर्दा सांसदहरुबीच कुटाकुट भएको स्थानीय मिडियाले शुक्रबार जनाएको छ ।
बिहीबार साँझ भएको सो झडपमा एक सांसद टाँका लगाउनु पर्ने गरी घाइते भई अस्पतालमा भर्ना हुनुपरेको छ । हिंसात्मक झडपपछि सभामुख भोलोदिमिर लिट्भिनले विधेयकमा मतदान नै नगरी संसद स्थगित गर्नुपरेको थियो ।
रुस समर्थक क्षेत्रका राजनीतिक पार्टीहरुको नेतृत्वमा राष्ट्रपति भिक्टर यानुकोभिचले यो विधेयक पास गराउन खोजेका थिए । तर जेलमा रहेका विपक्षी नेता युलिया टिमोसेन्कोले भने यस्तो विधेयकले युक्रेनलाई जारवादी र सोभियन नीतिलाई कायम राख्दै युक्रेनलाई झन् रुसी सांस्कृतिक उपनिवेशमा पार्ने बताएका थिए ।
टिमोसेन्कोलाई गत अक्टोबरमा पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको अभियोगमा प्रधानमन्त्रीमा बहाल रहँदा सात वर्षको लागि जेल सजायँ सुनाइएको थियो ।
युक्रेनी भाषा पहिलो भाषाका रुपमा देशका पश्चिमी र उत्तरी नगर र गाउँका जिल्लाहरुमा बोल्ने गरिन्छ । देशको पूर्वी र दक्षिणी भागमा र प्रमुख सहर र मिडियामा भने रुसी भाषाको व्यापक प्रयोग हुन्छ । तर पनि सबै कानुनी कागजात र माध्यमिक तहसम्मको स्कूले शिक्षा कानुनतः युक्रेनी भाषामा हुनुपर्छ ।



















