काठमाडौ, ३ जेठ । ११ प्रदेशको विरोध र जातीय पहिचानसहितको राज्यपुनर्संरचनाको माग गरी बुधबार राजधानीमा आदिवासी जनजातिले निकालेको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गर्दा सभासद्सहित दर्जनजति प्रदर्शनकारी घाइते भएका छन् ।
रत्नपार्कबाट निकालिएको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गर्दा माओवादी सभासद् आङदावा शेर्पा र किरात राज्य संघर्ष समितिका भाइ किराती गम्भीर घाइते भएको बताइएको छ । दुवै जनाको चावहिलस्थित ओम अस्पतालमा उपचार भइरहेको छ ।
अन्य घाइतेमा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष राजकुमार लेखी थारु, किरात राई विद्यार्थी संघका केन्द्रीय अध्यक्ष धीरेन्द्र रुम्दाली राई, ङवाङ फुरी शेर्पा, माधव दर्लामी मगर, प्रेम लिम्बू, प्रेमध्वज राईलगायत रहेका छन् । उनीहरुलाई प्रहरीले नियन्त्रण लिएको जनाइएको छ ।
मसाल जुलुस निकाल्नु अघि बुधबार दिउँसो आदिवासी जनजातिले बबरमहलदेखि बानेश्वरस्थित संविधानसभा भवन अगाडिसम्म सिठी जुलुस प्रदर्शन गरेको थियो । प्रदर्शनपछि भएको कोण सभामा आदिवासी नेताहरुले आफुहरु पार्टीगत स्वार्थभन्दा माथि उठेर आफ्नो पहिचानको लागि एक भएर आन्दोलनमा होमिएको बताएका थिए ।
उनीहरु मंगलबार ठूला दलका तीन नेताहरुबीच भएको ११ प्रदेशको सहमति कुनै हालतमा स्वीकार नगर्ने उद्घोष गरे । नेताहरुले पार्टीको अनुशासनको कारवाही भोग्न तयार रहेको तर समुदायको अधिकारको सवाल छाड्न नसकिने बताएका थिए ।
यसरी ११ प्रदेशको विरोध गर्दै संविधानसभाको राज्य पुनर्संरचना समिति र आयोगको प्रतिवेदनको आधारमा राज्यको पुनर्संरचनाको माग गर्नेमा काँग्रेसका दीप छिरिङ शेर्पा, एमालेका पासाङ शेर्पा, माओवादीका सुरेश आलेमगर र सावित्री दुरा लगायत थिए । आदिवासी जनजातिहरुले आन्दोलनलाई निरन्तरता दिने जनाएको छ ।
यसैगरी महेन्द्रराजमार्ग अन्तर्गत बुटवल–नारायणगढ खण्डको बासामा आन्दोलनकारीले प्रहरी स्कर्टिङमा रहेको एउटा बस जलाएपछि प्रहरीले गोली चलाएको छ । प्रहरीले बर्दघाटवाट स्कर्टिङ गरेर बुटवलतर्फ लैजाँदै गरेको ना४ख ५१९५ नम्बरको बस जलाएपछि तीन राउण्ड गोली र दर्जनौ अश्रुग्यास प्रहार गरेर भिड तितर बितर पारेको छ ।
गोली टाढैवाट हानेकाले कसैलाई नलागेको प्रहरीको भनाई छ । आन्दोलनकारी भाग्ने र मौका छोप्दै फेरी राजमार्गमा अबरोध पुर्याउन आउन क्रमले गर्दा तनाव जारी छ । आन्दोलनकारीहरुमा थारु समुदायको बाहुल्यता छ ।
थारु संयुक्तसंघर्ष समितिले बिगत ४ दिनदेखि बन्द गरिएका कारण नवलपरासीको जनजिवन अस्तब्यस्त छ । राजमार्गमा एम्बुलेन्स समेत अबरोध पुर्याउदै आएका छन् ।
केही दिन अघि पनि बन्दकै क्रममा नवरपरासीमा प्रहरीले चलाएको गोली लागि पाँच जना थारु युवा घाइते भएका थिए ।
बर्दघाट चौकीका सई यदु रिमालले टेलिफोनमा दिएको जानकारी अनुसार बसमा अस्पताल हिडेको एक सुत्केरीले बसमै बच्चा जन्माएकी छन् । अस्पतालमा पुर्याउन नपाएका कारण बच्चाको एक घण्टापछि मृत्यु भएको छ । बसमै रहेकी सुत्केरीको अबस्था नाजुक छ ।
- कान्तिपुर

















