काठमाडौ, ३ जेठ । प्रमुख तीन दलबीच प्रदेशको संख्यासँगै सीमामा पनि करिब सहमति भएको छ । तराईको भूभागमा तीनवटा छुट्टै र सुदूरपश्चिममा पहाडको प्रदेशसँग रहने गरी प्रदेश बनाउने सहमति बनेको छ । अन्य सातवटा प्रदेश भने पहाड र हिमालमा हुने छन् । काठमाडौ उपत्यका रहने प्रदेशलाई चितवनसम्म जोड्ने समझदारी भएको छ । यसअघि माओवादीले चितवनलाई केन्द्र शासित रहने गरी प्रस्ताव गरेको थियो ।
कांग्रेस महामन्त्री सिटौलाले प्रस्तावित ११ प्रदेश (हेर्नुस् तल) को मोटामोटी सीमांकन गरिएको र त्यसको अन्तिम टुंगो संघीय आयोगले गर्ने बताए । 'कतिपय विषय प्राविधिक भएकाले राजनीतिक तहमा सहमति नगरिएको हो,' उनले भने । माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि कैलाली, कञ्चनपुरसहित सुदूरपश्चिमका नौ जिल्लालाई एउटै प्रदेश मान्ने विषय अझै छलफलमै रहे पनि अन्य प्रदेशको मोटामोटी सीमांकनमा सहमति बनेको जनाए ।
दलहरूको सहमतिअनुसार सुदूरपश्चिमका दुई अञ्चल सेती-महाकाली अखण्ड नै रहने छन् । दलहरूले यसको जिम्मा सबै संघीय आयोगलाई दिने भने पनि प्रारम्भिक सहमतिमा सेती-महाकाली अञ्चल रहेको एउटा छुट्टै प्रदेश बनाउने समझदारी गरेका छन् । त्यस भेगमा थारूवानको माग गर्दै भइरहेको आन्दोलनलाई सम्बोधन गर्ने गरी उनीहरूले आवश्यक परेको अवस्थामा त्यस भेगमा जनमत संग्रह समेत गर्न सक्ने सहमति पनि गरेका छन् ।
पूर्वमा झापा, मोरङ, सुनसरीसहितको प्रदेश हुनेछ । सप्तरीदेखि पर्सासम्म अर्को प्रदेश हुने छ । तराईकै केही भूभाग रहेको चितवन उपत्यकाको प्रदेशसँग जोडिने छ भने नवलपरासीदेखि बर्दियासम्म अर्को प्रदेश हुनेछ । सुदूरपश्चिमको तराई भूभाग कैलाली कन्चनपुर पहाडसँग जोडिएको सेती-महाकाली प्रदेशमा रहनेछ ।
स्पष्टीकरण
यसरी प्रदेश बनाउने विषयमा दलहरूबीच समझदारी भएको छ, तर प्रदेशहरूको सीमांकन र नामांकन संविधानमा नै उल्लेख हुने संघीय आयोगले अन्तिम रूप दिनेछ । प्रस्तावित संघीय आयोगले सीमांकन गर्दा माथि उल्लेखित र कोष्ठमा रहेका जिल्लाहरूलाई भौगोलिक सुगमताका हिसाबले नटुक्र्याइकन कुनै प्रदेशमा सीधै गाभ्न वा टुक्र्याएर यता उता गर्न सक्नेछ ।
कस्ता छन् सम्भावित प्रदेश
प्रदेश भूभाग
१ झापा, मोरङ, सुनसरी
२ सप्तरीदेखि पर्सासम्म
३ नवलपरासीदेखि बर्दियासम्म
४ सेती-महाकाली सबै
५ कर्णाली, सुर्खेत, दैलेख, जाजरकोट (सल्यान र रुकुमका केही भाग)
६ रोल्पा, प्यूठान, अर्घाखाँची, गुल्मी, पाल्पा (सल्यान, रुकुम, म्याग्दी र बागलुङका केही भाग)
७ गण्डकी पूरै, पर्वत (म्याग्दी र बागलुङका केही भाग)
८ काठमाडौं, ललितपुर, भक्तपुर र चितवन (चितवनसम्म जोड्ने धादिङ, नुवाकोट र मकवानपुरका केही भाग)
९ काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली (मकवानपुर, रसुवा, नुवाकोट र धादिङका केही भाग)
१० सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर (संखुवासभा र भोजपुरका केही भाग)
११ धनकुटा, तेर्हथुम, ताप्लेजुङ, पाँचथर, इलाम (संखुवासभा र भोजपुरका केही भाग)
बाग्लुङ र म्याग्दी जिल्लालाई गण्डकी क्षेत्रमा राख्ने कि ‘मगरात’ क्षेत्रमा राख्ने विवाद छ । त्यस्तै काठामाडौं उपत्यकासँग चितवन र मकवानपुर राख्ने कि नराख्ने भन्नेमा पनि विवाद छ । कैलाली र कञ्चनपुरबारे जनमत संग्रहसम्म गर्नुपर्ने हुनसक्ने हुनाले त्यसलाई पनि टुंगो लगाइएको छैन। प्रदेशको नाम प्रस्ताव नगर्ने सहमति भएको छ।


















