राजनीतिक निकास दिन प्रधानमन्त्री र दलहरुलाई बेल्जियमबाट ज्ञापन पत्र

बेल्जियम, २३ जेठ । नेपाली आदिवासी जनजाती संयुक्त संघर्ष समिती, बेल्जियमले प्रधानमन्त्री र राजनैतिक दलहरुलाई सचेत नेपाली दूतावास बेल्जियममार्फत आज ज्ञापन पत्र बुझाएको छ । नेपालमा भैरहेको घटनाक्रमको मूल्यांकन गर्दै नेपाली जनताको आवश्यकता र चाहनालाई संवोधन गर्न सक्ने राज्य स्थापनाको लागि संयन्त्र निर्माण र सामुहिकतामा भर गर्ने प्रणालीको विकास गर्न ज्ञापन पत्र बुझाइएको हो । 

संघीयता र गणतन्त्रको पक्षमा संविधान सभामा बहुमत सदस्यहरु हुंदाहुंदै पनि नेपाली जनताले पराजित गरिसकेका प्रतिगमनकारीहरुको जनविरोधी हर्कतलाई प्रमूख मुद्धा बनाइ संविधानसभा नै विघटन भैसकेको अवस्था छ । यो घटनाक्रको प्रमुख कारण वैदेशिक हस्तक्षेप, नेपालका प्रमुख राजनैतिक दलहरुमा देखिएको प्रतिगमनकारी प्रवृत्ति, वैचारिक विचलन, अकर्मन्यता र सबैको पक्षमा भन्दै जनविरोधी कार्यमा संलग्न हुनाको परिणाम नै हो । यसका विरुद्ध नेपाली जनताले फेरी संघर्ष गर्नु बाहेक अर्को विकल्प नभएको र नेपाली जनताको संघर्षमा सदैव हाम्रो ऐक्यवद्धता रहिरहने कुरा ज्ञापनपत्रमा स्पष्ट गरिएको छ ।

नेपाली आदिवासी जनजाती संयुक्त संघर्ष समिती, बेल्जियम को आयोजनामा ज्ञापनपत्र बुझाउन बेल्जियममा रहेका विभिन्न संघ संगठन र त्यसमा आवद्ध प्रमूख ब्यक्ति तथा सदस्यहरुको ऐक्यवद्धता साथै उलेख्य उपस्थिती रहेको थियो । सो ज्ञापनपत्र नेपाली आदिवासी जनजाती संयुक्त संघर्ष समिती, बेल्जियमका संयोजक मेख गुरुङ्गले पढेर सुनाउनु भएको थियो ।