धुर्मुस र माग्ने बुढाको झगडाले मेरी बाँस्सै संकटमा


काठमाडौं, २१ जेठ । मेरी  बाँस्सैका निर्देशकद्वय सीताराम कट्टेल 'धुर्मुस' र केदार घिमिरे 'माग्ने बुढा'बीच विवाद चुलिएपछि मेरी बाँस्सैको सुटिङ्ग नै रोकिएको छ । तीन हप्तादेखि मेरी बाँस्सैको नयाँ सुटिङ्ग हुन सकेको छैन । 

हरेक शनिवार राति पौने नौ बजे प्रसारण हुने मेरी बाँस्सैमा  पछिल्ला ३ वटा भाग पुरानै दोहोर्‍याइएको छ । माग्ने बुढा र धुर्मुसबीच आफू आफूमा पनि प्रतिस्पर्धा भएको छ । त्यसैले धुर्मुस आफै धेरै भूमिकामा देखिन थालेका छन् भने माग्ने बुढाले पनि विल्सनविक्रम राई तोक्मे बुढालाई राखेका छन् ।

आन्तरिक झगडाकै कारण यी २ ले एउटै हाँस्य श्रृखला पनि विगत केही बर्षदेखि छुट्टाछुट्टै सुटिङ्ग गर्दै आएका थिए । तर सीताराम कट्टेल अर्थात् धुर्मुसले भने लगातारको हडताल र व्यस्तताले नयाँ श्रृंखला सुटिङ्ग गर्न नपाएकोले पुरानै श्रृंखला दोहोर्‍याएको बताए । 

नेपाल टेलिभिजनसँग समय किनेर मेरी बाँस्सै कार्यक्रम प्रस्तुत गर्दै आएको विज्ञापन एजेन्सी मिडिया हवले भने धुर्मुस र माग्ने बुढाबीचको विवादले कार्यक्रम बन्द हुने स्थितिमा आएको जनाएको छ ।