बझाङ, २१ जेठ । बझाङको एउटा दुर्गम गाउँमा दाजुभाइबीच अंशवण्डाको विषयमा झगडा हुँदा दुवै पक्षका गरी छ जना अबोध बालबालिका र एक महिलाको मृत्यु भएको छ । झगडामा उत्रेका दुवै जनाले चक्कु लगायतको घरेलु हतियार प्रयोग गरेर एक अर्काका अबोध नाबालक छोराछोरीको निर्मम हत्या गरेका हुन् ।
दाजु विरजीत बिकले आफ्नै भाई गगनका दुई छोराछोरीको खुकुरीले हत्या गरेपछि गगनले पनि विरजीतकी श्रीमती तथा आफ्नी भाउजु र चार भतिजाभतिजीको त्यसैगरी हत्या गरेका हुन् । अंश विवादले दुवै दाजुभाइलाई कंश बनायो । रीसको झोंकमा आँखा नदेखेर अवोध छोराछोरी र भाउजुको हत्या गरेपछि उनीहरु अहिले मानसिक सन्तुलन गुमाएको अवस्थामा पुगेका छन् ।
सदरमुकाम चैनपुरबाट करिब एक दिनको पैदल दुरीमा रहेको वेलकुल्ला दलित बस्तीमा शनिबार साँझ ६ बजेतिर गगन बि.क. र वीरजीत बि.क.बीच अंशवण्डाको विषयलाई लिएर विवाद भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक सूर्यबहादुर के.सी.ले जानकारी छन् ।
झगडामा गगनका एक छोरा र एक छोरी तथा वीरजीत का चार छोरा र एक श्रीमतीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा वीरजीतकी ३५ वर्षकी श्रीमती झाक्रीदेवी, छोरा आठ वर्षका राजेन्द्र, तीन वर्षका करण, चार वर्षका केशव र दुई वर्षकी छोरी लक्ष्मी रहेका छन् । यसैगरी मृत्यु हुनेमा गगनका दुई वर्षकी छोरी पवित्रा र तीन वर्षका छोरा पवन रहेका छन् ।
घरेलु हतियार चक्कु, वासुलो प्रयोग गरेर हत्या गरिएको उनले बताए । दुवै दाजुभाई गगन र बिरजितलाई नियन्त्रणमा लिइसकेकेा प्रहरीले जनाएको छ ।