कुकुरले गरेको दिसाका लागि ३ जनाको ड्यूटी ..... !?


के तपाईलाई विश्वास लाग्छ, कुकुरले गरेको दिसाका लागि ३ जनाको ड्यूटी खटाइन्छ भनेको सुन्दा ? कुरा सांचो हो, जर्मनीको डुसेल्डोर्फ़ Hauptbahnhof (मुख्य रेल स्टेसन) मा आज ३ बजेतिरको कुरा हो । १३ र १४ नम्बर प्लेटफमबाट मुख्य बाटोमा ओर्लने रोलिङ्ग (चढ़ेपछि गुडेर तल वा माथि पुर्‍याउने) भर्‍याङनेर एउटा कुकुरले दिसा गरेको रहेछ ।



जर्मनीमा एउटा पनि भुस्याहा कुकुर देखेको छैन मैले, तर महिला (कही कतै पुरुष पनि) हरु कुकुर र बिरालो मान्छेलाईभन्दा बढ़ी माया गरेर घरभित्र पाल्ने गर्दछन् । यस्तै कसैले डोर्‍याएर ल्याएको कुकुरले यो दिसा गरेको हुनुपर्दछ ।

म त नियमित 'S6' (रेलगाड़ी नम्बर) को प्यासेन्जर । गाड़ी १३ नम्बरमा रोकिन्छ, आज पनि यात्रा थियो ओभरकास्सेल(ठाउंको नाम) सम्मको । 'एस जेक्स' (सिक्स) बाट ओर्लेर U-Bahn (जमिन तल तल गुड्ने रेल) चढनुपर्ने ।

हतार हतार रोलिङ्ग भर्‍याङमा जान्छु भनेको, ३ जना Deutsche Bahn (DB) 'जर्मन यातायात'का कर्मचारीहरूले बाटो छेकेर 'कृपया बिस्तारै जानुस' भन्दै रहेछन । मलाई चासो पस्यो किन रहेछ बाटो छेकेको भनेर ? यसो नियालेर हेरेको घिनलाग्दोगरी छेरेको रहेछ कुकुरले दुई ठाउंमा छ्यालब्याल पारेर ।

DB का कर्मचारीहरू त्यही दिशा प्यासेन्जरको खुट्टामा लाग्ला कि भनेर जोगाउन खटिएका रहेछन त्यहाँ । मैले सोचे 'कति नागरिकप्रति जिम्मेवार सरकार, दिसा नागरिकहरुको जुत्तामा लाग्छ भनेर ३ जनालाई ड्यूटीमा खटाउने..!'

मेरो देशका कर्मचारी भए दिसा देखी मुख छोपेर घिनाउदै टाढा बसेर राम हेर्थे होला - कोही पासोमा पर्छ कि भनेर । आफू Auslander (बाहिर देशको) भए पनि मनमनै डुस्सेलडोर्फ राज्यलाई आभार प्रकट गरे र कामना गरे - 'मेरो देशमा पनि यस्तो सिस्टम बनोस सकेसम्म छिटो, जहाँ नागरिक हितका लागि सरकार सधै उत्तरदायी र जिम्मेवार बनोस ।'

पछि एउटा Deutsche (जर्मन) केटीलाई सोधे मैले - 'किन यिनीहरु यसरी एउटा कुकुरको दिसाबाट नागरिकलाई जोगाउंन यत्तिका धेरै मानवीय स्रोतको परिचालन गरेका होलान् ? छिट्टै किन सफा नगरेका होलान् ?'

उनी पनि जान्ने खालकी रहिछन् र भनिन् - 'कहाँ हेर्नुस् न, यहाँ सफा गर्नेहरु कतै अरु काममा व्यस्त भएको हुनुपर्छ । उनीहरु आए मात्र सफा गर्छन l यिनीहरुसंग सफा गर्ने सामान पनि त हुन्न । आ-आफ्नो काम हुन्छ नि त ।'

मैले भने - 'मेरो देशमा त यस्तो फोहोर भयो भने प्यासेन्जर आफै जोगिएर हिडनुपर्छ .....' मेरो कुरा काट्दै उनले भनिन - 'यहाँ पनि त्यस्तो गर्न सक्छन् तर कोही त्यहाँ लड्यो र चोटपटक लाग्यो भने DB ले उपचार खर्च व्यहोर्नुपर्दछ, मतलब कुनै घटना भएमा DB नै जिम्मेवार हुनुपर्दछ ।' म फेरि सोच्न थाले ''यस्ता असल कुरा सिको गरोस मेरो देशले पनि !''