विपरीत लैंगिक आकर्षण (OGA)


जीवन एउटा फूल हो, प्रेम त्यसको सौरभ ।" ----भिक्टर ह्युगो ।

अधिकांशको थम्याइ छ थरि थरिका प्रेम भए पनि केटा र केटीबीचको सम्बन्धलाई साझा रूपले बुझ्ने गरिन्छ - "प्रेम" भनेर । भनिन्छ, हरेक पुरुष सफल हुनुमा महिलाको हात हुन्छ । म पनि पुरुष भएको कारण पुरुषे गन्ध छ मेरा वाक्यहरुमा ।



तर अधिकांश लेखकहरुका रचना, फिल्म र महिलाहरुसम्बन्धि अध्ययन प्रतिवेदनहरुले पुरुषभन्दा महिलाहरुको लैंगिक आकर्षणको मामलामा बढी चाहना हुन्छ र संवेदनशील हुन्छन् भन्ने पाइन्छ । महिला लेखिकाहरू पनि यो कुराको पुष्टि गर्दछन् ।

तर म पुरुष भएको कारण यहाँ महिला र पुरुषको चाहना तौलने र महिलाको बारेमा बखान गर्नेभन्दा पनि दुवै लिंग विपरीत लिंगप्रति आकर्षित हुन्छन् नै भन्नेहरुको कुरालाई प्रष्टयाउने प्रयास मात्र गर्दैछु । तपाईहरुका जीवनमा थुप्रै रमाइला क्षणहरु छन पक्कै ! मैले यहाँ लेख्न लागेका कुरा रमाइला त छैनन् तर वास्तविक र भएका कुरा हुन् । खाली मैले यसलाई ख्याल राखेर कोरेको छु यहाँ ।

मैले बूढों उमेरमा Deutsch (जर्मन) भाषा सिक्दैछु । आज बिहानै भाषा कक्षामा जान कोठाबाट निक्लदै थिएँ । ढिला भएको कारण हुइँकिएर बाहिरिदै थिएँ । २ वटा शीशा भएका ढोकाहरु बाहिर पुगेको थिएँ, एउटी मरिया नाम गरेकी (अन्दाजी ४० वर्षकी) टुर्किस महिलाले भित्रको Waschraum (लुगा धुनें कोठा) बाट चिच्याउदै हात हल्लाउन थालिन् ।

मैले सोचें कुनै महत्वपूर्ण कुरा छ होला । उनी भित्रबाट निस्कीइन्, मतिर आइन् र पहिलो शिशावाला ढोका खोलिन् । मैले पनि मेरो नजिकको शिशावाला ढोका खोले । मैले सोधे - "Bitte (कृपया)!" उनी मुस्कुराउदै मज्जा गर्दै थिइन् - "Guten Morgen und Tschuss (बिहानको नमस्कार र बाई) !" मैले सोचे - हतारको बेला बूढीले २ मिनट खेर फाल्दिइन् ।

आज जर्मनमा महिलाहरुको यस्तो सोच्ने दिन रहेछ कि ? क्लासमा एउटी पोलनिश युस्तिना (२८ वर्ष) ले साँझ साढ़े सात बजेदेखि ९ बजेसम्म चल्ने "Sprachen Kaffee" मा आउन अनुरोध गरिन् । त्यहाँ कफी पार्टी हुन्छ र Deutsch भाषामा कुराकानी गर्न पाइन्छ विभिन्न मुलुकका साथीहरुसंग ।

युस्तिनाले मलाई निम्ता गर्नुमा पनि मलाई शंका छ किनकि उनले मलाई एकदिन भनेकी थिइन् - "Ich mag dich (म तपाईलाई मन पराउंछु) ।" यहाँ यस्तो भन्नु त सामान्य हो । मैले भने - म अरु कोहीसंग engaged छु । 

तर यत्ति कुराले उनलाई विश्वास छैन । यदि मैले उनलाई थोरै मन दिने हो भने भन्न सक्छिन् - "Ich liebe dich (म तपाईलाई माया गर्छु)" । यस्तो भन्न थालेमा प्रेमका लागि पूर्ण रुपमा मन दिएको मानिदो रहेछ यहाँ । मैले भन्ने वातावरण तयार हुन दिएको छैन । "म रुपमा त्यस्तो hancy पनि छैन तर किन .......... यस्तो ?" मेरो मनोवाद हो भर्खर डायरीमा यही कुरा लेखेको छु ।

अँ , ... मलाई २०५८ सालतिरको कुरा याद आयो । एकदिन काठमाण्डौबाट बागलुङको यात्रा गर्दाको कुरा हो, रात्री बसमा । मुग्लिनमा खाना खानुपर्छ सबै यात्रीले । मलाई इन्डियन रोटी मनपर्ने । त्योभन्दा पनि इन्डियनको फ्राइड दाल मिठो लाग्ने । म गाड़ी रोकेको विपरीत दिशाको होटेलमा गएर रोटी दाल खान शुरू गरे ।

किन हो कुन्नि ? मेरो आँखा नजिकैको २ वटी केटीहरुमा पर्‍यो । हेरे, केही कल्पना गरे कि, निक्कै राम्री रहेछन् भनेर । म चढेको गाड़ीबाट २ जना ठिटाहरु निस्किए । ढल्कदै र कपाल मिलाउदै पल्याकपुलुक चारै दिशा नजर नचाए उनीहरु । अनि बढे उही मेरो आँखा परेकी नानीहरूकहाँ ।

दुबैलाई राम्रोसंग चिन्थे म । किन कि छोरालाई विदेश पठाउन भनेर एउटा चाहिको बाबा मसँग पनि "पैसा सहयोग गर्नुपर्‍यो जेठा" भन्न आउनुभएको थियो । म त्योंताका नि.मा.वि. शिक्षक, के सहयोग गर्न सक्थे र ? मेरो भाउजुले दोब्बर दिने शर्तमा २ तोला सुन दिनुभएको थियो उसको लागि । अर्को चाही मेरै गा.वि.स. को र मेरै विद्यार्थी थिए । 

केटाहरु राम्री राम्री मैयाहरुलाई देखेपछि हुरुक्क ... ! अनि त शान देखाउन शुरू गरिहाले । हाम्रा बाबाहरू दिनभरि चिसोमा काम गर्दा सर्दी लागेर जिउ दुखाइलाई ठीक पार्न झ्वाई खट्टे बनाइ पिउने रहर छंदा पनि खल्तीमा १५ रुपैयाँ नभएर खोयाबिर्के (बियरको बोतलमा राखेर बेचिने स्थानीय रक्सी, बोतलमा मकैको खोयाको बिर्को लगाइन्छ) लिनु हुन्नथ्यो कैयनपटक ।

यी बाबुहरु, सुको कमाएका हैनन्, दलालले कस्तो ठाउंमा फाल्दिने हो थाहा छैन, १३० का दरमा ८ वटा बोतलहरु ढलाए । झल्झली उसको बाबाको अनुरोध सम्झिएँ । तर मात चढेको थियो १८ वर्षे ठिटाहरुमा । माफ़ गर्नुहोला मैले त्यहाँ सम्झाउंन सकिनं उनीहरुलाई ।

सुनेको छु, प्रेमले सप्रन्छन रे, कोही बिग्रन्छन् रे पनि । खोई कुरो जटिल लाग्छ मलाई । प्रीतिको डढेलोबाट जोगिएर होला सायद तर OGA त रहेछ ममा पनि । फेरि मेरै कुरा । मान्छेको मन न हो, Deutsch क्लासबाट फर्कने बेलामा एउटी सुन्दरी नानीको छेवैमा सिट खाली रहेछ । उनको पछाडिका सिटहरु खाली त थिए तर म उनकै छेउमा बसे । सोधे - "Wo wohnen Sie ? Sind Sie Schülerin ? (कहाँ बस्नुहुन्छ ? तपाई विद्यार्थी हुनुहुन्छ) ?" आदि आदि ......... मेरो एकजना शुभचिन्तकले मलाई सधै भन्नुहुन्छ : "तपाई अलिक मनका कुरा पनि ब्लगमा लेख्नुहुन्छ । आफ्नो हैसियतलाई ख्याल राखेर लेख्नुस् ।"

अहिले मलाई लागेको छ - "मैले भूल त गर्दै छैन ? विपरीत लैंगिक आकर्षण (Opposite Gender Attraction) लाई चाही मैले वशमा राख्नुपर्छ .............. हत्तेरी, कता कता बरालिएछु कि क्या हो म त ?"