काठमाडौं, ९ जेठ । एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड र उपाध्यक्ष बाबुराम भट्टराईबीच काठमाडौंमा मिल्ती भए पनि बारामा भने काटामार सुरु भएको छ । दुई पक्षका नेता कार्यकर्ताबीच एकअर्काको पोल खोल्ने क्रम सुरु भएपछि इलाका प्रहरी कार्यालय सिमराका इन्स्पेक्टर केपी शर्माको धन्दा नै माओवादीका लुकेछिपेका अपराध पत्ता लगाउने र एमाओवादी नेता कार्यकर्तालाई पाता फर्काउने भएको छ । उनलाई एमाओवादीको अपराधको सुराकीका लागि प्रहरी परिचालन गर्नु नै परेको छैन ।
एमाओवादीकै कार्यकर्ता धमाधम सूचना दिएर सजिलो पारिरहेका छन् । जेठ २ गते मंगलबार रातिमात्रै प्रहरीले मनहर्वा–९ स्थित डाँडामा एमाओवादीका पूर्णकालीन कार्यकर्ता बस्दै आएको घरमा छापा मारेर बम बनाउने कारखाना फेला पारेको छ ।
बम बनाउने घरमा पुगेको प्रहरीले दुई पूर्णकालीन कार्यकर्तासहित ठूलो मात्रामा बम बनाउन प्रयोग गरिने सामग्री, तयारी बम, हतियार र लागु पदार्थसहित नगद रुपैयाँ पनि बरामद गरेको छ । पक्राउ पर्नेमा सिंहासनी–६ का उमेश पटेल र सिंहासनी–९ का विन्दालाल राउत छन्। पटेल माओवादीको भोजपुरा राज्य समिति सदस्य र राउत माओवादीका गाविस पार्टी प्रतिनिधि हुन्। उनीहरूबाट प्रहरीलै तयारी अवस्थामा रहेका चार थान पाइप बम, चार थान ग्रिनेड, एक थान कटुवा पेस्तोल र थ्री नट थ्री पेस्तोलको गोली बरामद गरेको छ। यस्तै, बम बनाउन प्रयोग गरिने म्याग्नेट पाँचसय ग्राम, पोटासियम पाँचसय ग्राम, गन्धक पाउडर १० किलोग्राम, पोटासियम क्लोराइड पाउडर चार किलो ग्राम, युरिया मल पाँच किलो ग्राम, जिआइ पाइपका सकेट आठ थान बरामद गरिएको इन्स्पेक्टर शर्माले बताए। विस्फोट गराउन प्रयोग गरिने फ्युज र ब्याट्री, कालो तार दुई सय मिटर र एलपी ग्याँसको सिलिण्डर एक थान पनि प्रहरीले बरामद गरेको छ।
यतिमात्र होइन, उनीहरूबाट प्रहरीले भारमात्रामा लागु औषध नर्फिन, टिडिजेसिक इन्जेक्सन, फेनरागन इन्जेक्सन, डाइजापाम इन्जेक्सन, सिरिन्ज फेला पारेको छ। दुवै जनाको साथबाट एक लाख २५ हजार रुपियाँ नगद पनि बरामद गरेको छ। बम कारखाना सञ्चालन भइरहेको घर गुरुजी भनिने विनयराज पाण्डेको हो। योङ कम्युनिष्ट लिग भोजपुरा राज्य समितिका इन्चार्ज विष्णु लामाका अनुसार, पाण्डेको घर माओवादीले द्वन्द्वकालमै कब्जामा लिएर पूर्णकालीन कार्यकर्तालाई राख्दै आएको थियो। यति ठूलो दशीसहित प्रहरीले पक्राउ गरे पनि लामाले आफ्ना निर्दोष कार्यकर्तालाई प्रहरीले फसाएको आरोप लगाएका छन्। माओवादी बारा इन्चार्ज हरि चौलागाइँले प्रचण्डनिकट मानिने भोजपुरा राज्य समिति सेक्रेटरी अन्जना विशंखेको उक्साहटमा प्रहरीले राउत र पटेललाइ झुटो आरोपमा फसाएको बताए। चौलागाइँ र पटेल, बाबुराम भट्टराई पक्षधर हुन्।
जिल्ला सेक्रेटरीले राज्य समितिका सेक्रेटरीलाई धावा दिने काम भएपछि यो काममा विशंखेको हात रहेको पाइएको छ। केही दिनअघि पटेलले सिमरास्थित योङ कम्युनिष्ट लिगको कार्यालयमा विशंखेले प्रयोग गर्दै आएको वा ८ च २२०७ नम्बरको चोरीको गाडी प्रहरी लगाएर पक्राउ गराएपछि बदला लिन विशंखेले बम कारखाना प्रहरीलाई सुराक दिएको आरोप जिल्ला तहका नेताको छ। प्रहरीले गाडी नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइसकेको छ। माओवादी भोजपुरा राज्य समितिमा नेताहरूबीच गुट उपगुटको राजनीति चर्किँदै गएपछि एक अर्काविरुद्ध पोल खोल्ने क्रम सुरु हुँदा प्रहरीलाई सजिलो भएको पाइएको छ।
प्रचण्ड पक्षधर भोजपुरा सेक्रेटरी विशंखेले चढ्ने गरेको गाडी प्रहरीले नियन्त्रणमा लिएको साता नबित्दै भट्टराई पक्षका कार्यकर्तालाई माओवादीकै सुराकीमा प्रहरीले ठूलो परिमाणमा हतियार र विस्फोटक पदार्थसहित पक्राउ गरेको हो। यस्तै, ९ वैशाखमा माओवादी कार्यकर्ताकै सुराकीका आधारमा प्रहरीले बारा हरैया–६ का माओवादी कार्यकर्ता काशी तिमिल्सिनालाइ स्वचालित पेस्तोलसहित कलैयाबाट पक्राउ गरेको थियो।
दाहाल पक्षधर रहेका पार्टीका बारा इन्चार्ज चौलागाइँलाई भोजपुरा सेक्रेटरी विशंखेले हटाएर सभासद् जयराम दाहाललाइ जिल्ला इन्चार्जको जिम्मा दिएपछि भोजपुरा समितिमा नेताहरूबीच पोल खोल्ने क्रम सुरु भएको छ। विशंखे एकता केन्द्र पक्षधर युवा नेतृ हुन् । माओवादी स्थायी कमिटी सदस्य पूर्णभक्त दुलाल उर्फ आहुतिकी पत्नी विशंखे लामो समयदेखि छुट्टिएिर बसेकी छन्।
जनमोर्चामा रहँदा विशंखे र तत्कालीन जनमोर्चाका विद्यार्थी नेता जागृत रायमाझीबीच यौन सम्बन्ध भएको पार्टीले थाहा पाएपछि नेता अमिक शेरचनले ११ पाना स्पष्टिकरण लिएका थिए। रायमाझी अहिले अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष छन् भने विशंखे पार्टी राज्य समिति सेक्रेटरी। जनमोर्चामा हुँदा माओवादीको वाइसिएल र अध्यक्ष प्रचण्डप्रति आक्रामक भाषण दिने रायमाझी पनि अहिले विशंखेजस्तै प्रचण्डका विस्वास पात्रभित्र पर्छन् र क्रान्तिकारीका भावी अध्यक्षका रुपमा प्रस्तुत हुन्छन्।

















