संविधान सभाको भविष्य अन्यौलमा


काठमाण्डौं, ११ जेठ । सर्वोच्चको आदेश लत्याउँदै संविधानसभाको म्याद थपका लागि गरिएको प्रस्तावका पक्ष र विपक्षमा दलहरु बाँडिएका छन् । दुई ठूला दल कांग्रेस र एमाले म्याद थपको विपक्षमा रहेकाले संविधान सभाको भविष्य अन्यौलमा परेको छ ।

म्याद थपका लागि संविधान संशोधन गर्न संविधानसभाको दुई तिहाई मत आवश्यक पर्छ । कांग्रेस र एमाले दुवैले समर्थन नगर्दा दुई तिहाई पुग्न सक्दैन ।
सत्तामा नरहेका केही मधेसबादी दलहरु पनि म्याद थपको विपक्षमा रहेका छन् भने माओवादीकै बैद्य पक्षले पनि म्याद थपको विरोध गर्दै आएको छ ।

यसअघि दलहरुबीच भएको सहमति अनुसार जेठ १४ मै संविधान हुनुपर्ने र प्रधानमन्त्री भट्टराईले राजीनामा दिनुपर्ने निष्कर्ष कांग्रेस र एमालेले निकालेका छन् ।

समयमै संविधान जारी गर्नुपर्ने र संविधानसभाको म्याद थप नहुने विषयमा कांग्रेस र एमालेको धारणा समान छ, एमाले अध्यक्ष झलनाथ खनालले भन्नुभयो,-’अब संविधान घोषणाको सहमतिका लागि माओवादीसँग अन्तिम प्रयास गर्छौ ।’

म्याद थपको विपक्षमा रहेका कांग्रेस एमाले सहित विभिन्न साना दलले जेठ १४ सम्म संविधान जारी गर्नका लागि अधिकतम पहल गर्नुपर्ने र सम्भव नभए मात्रै कानुनी प्रक्रियाबाट बाटो खोल्नुपर्ने धारणा राखेका छन् । - सौर्य दैनिक