संविधानको मस्यौदा तयार, जारी गर्न मात्र बाँकी


काठमाण्डौं, १२ जेठ । दलहरुबीच सहमति नभए पनि संविधानसभा सचिवालयले जेठ १४ मै संविधान जारी गर्न सक्ने गरी संविधानको मस्यौदा तयार पारेको छ । मुख्य विवादित मुद्दा प्रदेश संख्या, सीमांकन र नामांकनलाई बाँकी राखेर सचिवालयले संविधानको मस्यौदा तयार पारेको हो ।

संविधानका मुख्य विवादित मुद्दामा दलहरुबीच सहमति भएपछि समावेश गर्ने गरी मस्यौदा तयार पारिएको सचिवालयका एक अधिकारीले बताएका छन  ।

प्रमुख तीन दल माओवादी, कांग्रेस, एमाले र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच भएको सहमति अनुसार सवैधानिक  समितिले मस्यौदा तयार पार्न सचिवालयलाई जिम्मा दिएको थियो । सोही आधारमा सचिवालयले मस्यौदा तयार पारेको हो ।

मस्यौदालाई संवैधानिक समितिले अनुमोदन गरेमा संविधान जारी गर्न कुनै अफ्ठेरो नपर्ने स्रोतले जनाएको छ । मुलुकको शासकीय स्वरुप, निर्वाचन प्रणाली, न्यायप्रणालीलगायतका विषयमा राजनीतिक सहमति भईसकेको छ । तर, राज्य पुर्नःसंरचनाको विषयमा भने दलहरु आ आफ्नै अडानमा रहेका छन् ।