६ महिनापछि पूर्वराजा ज्ञानेन्द्रका छोरी प्रेरणा र ज्वाई राजबहादुरको पुनर्मिलन


काठमाण्डौं, १२ जेठ । सम्बन्ध विच्छेदको अवस्थामा पुगेका पूर्व राजकुमारी प्रेरणा र उनका पति राजबहादुर सिंहको पुनर्मिलन भएको छ । झण्डै ६ महिनापछि प्रेरणा गत साता छाउनीस्थित पतिको घरमा गएकी छन् । प्रेरणालाई लिन राजबहादुर आफै निर्मल निवास पुगेका थिए ।

राजबहादुरले प्रेरणासँग आफ्नो गल्ति भएको भन्दै अब कहिल्यै गल्ति नगर्ने वाचा गरेको स्रोतले जनाएको छ । ‘राजबहादुरले पटक-पटक गल्ति भयो भनेर माफी मागेका थिए, साह्रै अनुनय विनय गरेपछि प्रेरणाको मन पग्लियो’, निर्मलनिवास निकट स्रोतले भन्यो ।
स्रोतका अनुसार अन्तिम पटक भन्दै प्रेरणा राजबहादुरको घर जान तयार भएकी थिइन् । शुक्रबारदेखि उनीहरुको सम्बन्ध सुमधुर रहेको छ ।

केही दिन अघि मात्र राजबहादुर सिंगापुरबाट स्वदेश फर्किएका थिए । स्वदेश आएको केही दिनमै उनी निर्मल निवास गएको बताइएको छ । पछिल्लो समयमा आर्थिक संकटमा फसेका उनी बाध्य भएर प्रेरणासँग झुकेको स्रोतको दाबी छ ।

६ महिना अघिदेखि यो दम्पति अलग अलग बस्दै आएको थियो । - सौर्य दैनिक