सौतामा गएकी एसपी गितामाथि थप विदेशी सौता


काठमाडौं, १० जेठ । श्रीमानले आफूलाई हेला गरेको तथा मानसिक यातना दिएको भन्दै नेपाली प्रहरीको मुख्यालय कानुन शाखामा कार्यरत वरिष्ठ अधिकृत एसपी गिता उप्रेती न्यायका लागि अदालतको ढोकामा पुगेकी छिन् । सामाजिक परम्परा अनुसार २०४६ साल मंसिर ११ गते विवाह भएको दावी गर्दै एसपी उप्रेतीले आफ्ना श्रीमान जन्मेजय ढकालसँग सम्बन्ध विच्छेद गरी अंश पाउँ भन्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा हालेकी हुन् । 

एसपी उप्रेतीले सम्बन्ध विच्छेद गरि अंश मुद्दा पाउँ भन्दै काठमाडौं जिल्ला अदालतमा न्यायको भिख मागिरहेकै बेला ढकालकी जेठी श्रीमती शिवकुमारीले पनि अंश मुद्दा दायर गरेकी छिन् ।
चितवन गुञ्जानगर-२ का जन्मेजय ढकालले एकपछि अर्को गर्दै दुईवटी सौता भित्र्याएकाले आफू ठूलो अन्यायमा परेको जेठी श्रीमती शिवकुमारीले बताएकी छिन् । शिवकुमारीले सौता गिता उप्रेतीको नाममा रहेको चल अचल सम्पत्ति श्रीमान जन्मेजयको भएकाले सो समेत अंश वण्डा गरी पाउँ भन्दै २०६७ साल अजोज १९ गते जिल्ला अदालत काठमाडौंमा मुद्दा हालेकी थिइन् ।

श्रीमान जन्मेजय ढकालले षड्यन्त्रपूर्ण तवरबाट सम्पूर्ण सम्पत्ति सौता गिताको नाममा राखी उनी र छोरा दिनेश ढकाललाई समेत अन्याय गरेको शिवकुमारीको दावी छ । तीन पत्नीका धनी जन्मेजय ढकालले २०४७ सालतिरै फिलिपिनी नागरिक लानिभी बरिडोसँग पनि विवाह गरेका थिए।  फिलीपिनो श्रीमतीकी तीन छोराहरू रहेका छन् । शिवकुमारीकी सौता एसपी उप्रेतीले अदालतमा दायर गरेको फिराद पत्रमा भनेकी छिन्,–'२०५० सालमा छोरा गीताञ्जय ढकालको जन्म भएपछि श्रीमानले मानसिक यातना दिई हेरचाह नगरी आफ्नो दायित्वप्रति वेवास्ता गरेकाले म र मेरो छोरा माइती घरमा नै बस्न बाध्य छौं । श्रीमती र छोराको दायित्व वहन नगरेकाले मुलुकी ऐन १ को 'क' देहाय २ बमोजिम सम्बन्ध विच्छेद गरी ४ 'क' नम्बर बमोजिम आफ्ना श्रीमान जन्मेजय ढकालबाट अंश समेत दिलाई पाउँ ।'  

२०६६ साल चैत्र २३ गते जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेकी एसपी उप्रेती, जेठी श्रीमती शिवकुमारी र विदेशी श्रीमती लानिभी बरिडो कसैले पनि बुहविबाहको मुद्दा भने अदालतमा दायर गरेका छैनन् । कान्छी श्रीमती लानिभीसँग विवाह गरेपछि जेठी श्रीमती शिवकुमारी र माईली श्रीमती गिता उप्रेतीलाई वेवास्ता गरेका कारण न्यायका लागि श्रीमतीद्धय अदालत पुगेका हुन् । 

नेपालको कानुनमा अर्को विवाह गर्नका लागि पहिलो श्रीमतीसँग अनिवार्य छोडपत्र हुनुपर्ने व्यवस्था छ । नत्र प्रचलित कानुन बमोजिम विवाह गर्नेलाई बहुविवाहको मुद्दा लाग्छ । उता, जन्मेजय ढकालले भने कानुन बमोजिम दुबै श्रीमतीलाई हेरचाह गरेकाले अंश दिन नपर्ने अदालतसामु बताएका छन् । जेठी श्रीमती शिवकुमारीले बहुविवाहको मुद्दा हालेको खण्डमा एसपी उप्रेतीलाई कानुन बमोजिम न्यूनतम एक वर्ष र अधिकतम तीन वर्षसम्म कैद हुन सक्छ भने सरकारी जागिरबाट एसपी उप्रेतीले बरखास्त दिनुपर्ने हुन्छ ।